काठमाडौं :
‘छ माया छपक्कै’,‘नाङ्गो गाउँ’जस्ता सफल फिल्म लेखन तथा निर्देशन गरिसकेका दीपेन्द्र लामाले ‘दुखी आत्मा’मा कलाकार अनुबन्ध गरिरहेका छन्। उनले यो फिल्ममा दयाहाङ राई,आँचल शर्मापछि अनुपविक्रम शाहीलाई अनुबन्ध गरेका छन्।
निर्देशक लामाले सोमबार २४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्मका लागि पछिल्लो समय अनुपलाई अनुबन्ध गरिएको जानकारी दिएका हुन्। उनले कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको बताए। यस फिल्मका लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले केहि कलाकार छिट्टै फाइनल गर्ने पनि जानकारी दिए। क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने पक्कापक्की भइसकेको छ।
दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन्। काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्ने निर्माण पक्षले जानकारी दिएको छ।