सुचना, समाचार र मनोरन्जन

डेब्यु निर्देशक अर्जुन घिमिरेको ‘झरीपछिको इन्द्रेणी’ हेर्न कलाकारको भीड

काठमाडौँ :

प्रदर्शनरत नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को विशेष शो हेर्न कलाकार, फिल्मकर्मी र राजनीतिज्ञहरू एकै ठाउँमा देखिएका छन्। कमलपोखरीस्थित बिग मूभिजमा आयोजित विशेष शोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पार्टीका नेताहरू सहभागी भएका छन्।

फिल्म हेर्न पुगेकाहरूमा निर्देशक अर्जुन घिमिरे पाँडे, फिल्मका कलाकार तथा निर्माण टिमका सदस्यहरूको उपस्थिति रहेको छ। पाँडेको डेब्यु निर्देशन रहेको ‘झरीपछिको इन्द्रेणी’ जेन–जी आन्दोलनको पृष्ठभूमिमा आधारित सामाजिक–राजनीतिक कथामा केन्द्रित छ।

विशेष शोमा रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका गायक प्रकाश सपुत तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि सहभागी छन्। कलाकार र संगीतकर्मीको उपस्थितिलाई फिल्मप्रति बढ्दो चासोको संकेतका रूपमा हेरिएको छ।

त्यसैगरी, सभापति रवि लामिछानेसँगै चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष तथा उनकी पत्नी निकिता पौडेल, रास्वपा नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, गणेश कार्की लगायत पनि हलभित्र रहेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) ले समेत यस फिल्मको प्रचार गरेका थिए। बालेन निकट फिल्मकर्मी अर्जुन घिमिरे पाँडेको निर्देशनमा बनेको फिल्मले युवा पुस्ताको चेतना, आन्दोलन र राजनीतिक विमर्शलाई समेटेको छ।

रवि लामिछाने र बालेन शाहबीच सहमतिको सूत्रधार मानिएका कुमार व्यञ्जनकार ले सोमबार बेलुका कुलमान घिसिङ सहमतिमा आइसकेपछि सामाजिक सञ्जालमा “कस्तो लाग्यो त झरीपछिको इन्द्रेणीको क्लाइमेक्स ?” भन्दै फिल्मलाई संकेत गरेका थिए। व्यञ्जनकार र रास्वपा नेता गणेश कार्की ले यस फिल्मको लेखनमा समेत सहकार्य गरेका छन्। ४ पुसदेखि प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’ ले पछिल्लो शनिबारसम्म ६२ लाख ६९ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.