सुचना, समाचार र मनोरन्जन

रास्वपाको समानुपातिक सूचीमा कलाकारको प्रभावशाली उपस्थिति, फिल्म–संगीत क्षेत्रका चर्चित अनुहार अगाडि

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कलाकारहरूको प्रभावशाली उपस्थिति देखिएको छ। पार्टीको सूचीमा फिल्म, संगीत, टेलिभिजन र ब्यूटी पेजेन्ट क्षेत्रका चर्चित अनुहारहरूले महत्वपूर्ण स्थान पाएका छन्।

मनोरञ्जन क्षेत्रबाट पहिचान बनाइसकेका गायक, अभिनेता, अभिनेत्री, टिभी कार्यक्रम होस्ट र पूर्व मिस नेपालसम्मलाई रास्वपाले विभिन्न क्लस्टरबाट अग्रपंक्तिमा राखेको देखिन्छ। कलाकारलाई प्रतिनिधित्वको केन्द्रमा राखिएको यो सूचीलाई रास्वपाको फरक राजनीतिक अभ्यासका रूपमा हेरिएको छ।

गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट दोस्रो स्थानमा छन्। समाजका संवेदनशील विषयलाई गीत र अभिनयमार्फत उठाउँदै आएका सपुतको राजनीतिक सहभागिताले ध्यान तानेको छ। सोही क्लस्टरको पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जो पेशाले चिकित्सकसमेत हुन्।

दलित महिला क्लस्टरबाट टेलिभिजन कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा पहिलो स्थानमा समेटिएकी छन्। टिभीमार्फत सामाजिक विषय उठाउँदै आएकी उनको उम्मेदवारीलाई प्रतिनिधित्वको दृष्टिले महत्वपूर्ण मानिएको छ।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा अटाएकी छन्। सामाजिक अभियन्ता तथा सार्वजनिक  वक्ताको छवि बनाएकी अनुष्काको राजनीतिक प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा छन्। यसैगरी, चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङ पनि समानुपातिक सूचीमा परेका छन्।

रास्वपाले सोमबार बालेन शाह समूह र कुलमान घिसिङ समूहलाई समेट्दै ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको हो। रास्वपासँग एकता अघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहित केही कलाकारलाई सिफारिस गरे पनि अन्तिम सूचीमा उनीहरू समेटिएका छैनन्।

कलाकारहरूको उल्लेखनीय सहभागितासँगै रास्वपाको समानुपातिक सूचीलाई मनोरञ्जन क्षेत्रबाट राजनीतिको औपचारिक प्रवेशको संकेतका रूपमा समेत विश्लेषण गर्न थालिएको छ।

Leave A Reply

Your email address will not be published.