काठमाडौं :
सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले फिल्मको एक पात्रको लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक लुक्समा नव अभिनेत्री कविता रायको चरित्र क्यारेक्टर प्रस्तुत गरिएको छ।
पोस्टरमा ’किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन्। उनको अनुहार र हातमा रगत लागेको छ। हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ,जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ। आगामी वडा दसैँको फूलपातीमा रिलिजमा आउने यस फिल्ममा निर्देशक सेनले राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए।
निर्देशकले यस फिल्ममा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन्। सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ।सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनौट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो।
फिल्ममा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् भने सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। ‘आसुसेन फिल्म्स् प्रा.ली.’ को प्रस्तुति रहेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्।