काठमाडौँ :
नेपाली चलचित्रकी अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रको व्यावसायिक यात्रामा प्रवेश गरेकी छन्। अभिनय क्षेत्रमा स्थापित शिवाकोटी नेपालको क्लिनिकल ल्याब सेवाप्रदायक संस्था ‘मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेड’सँग ब्रान्ड फेसका रूपमा जोडिएकी हुन्।

उक्त सहकार्यसँगै शिवाकोटीले अब मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी रणनीतिहरूमा प्रत्यक्ष भूमिका निर्वाह गर्नेछन्। सामान्य ब्रान्ड विज्ञापन (एन्डोर्समेन्ट) मा मात्र सीमित नभई संस्थाको दीर्घकालीन व्यावसायिक यात्रा र उद्यमशीलतामा सहकार्य गर्ने गरी यो सम्झौता भएको कम्पनीले जनाएको छ।
आफ्नो व्यावसायिक दायरा विस्तार गर्ने क्रममा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र रोजेको बताउँदै अभिनेत्री शिवाकोटीले भनिन्, “अभिनेत्रीका रूपमा विभिन्न ब्रान्डसँग काम गरे पनि यसपटक संस्थाको विकास र यात्रासँग नजिकबाट जोडिन चाहेकी थिएँ। यस सहकार्यले मलाई स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्नका साथै आफ्नो अनुभव र सिर्जनशीलतालाई नयाँ क्षेत्रमा प्रयोग गर्ने अवसर दिएको छ।”
भविष्यमा मनोरञ्जन क्षेत्रका साथसाथै व्यवसाय, ब्रान्ड निर्माण र उद्यमशीलताका क्षेत्रमा पनि आफ्नो उपस्थिति सशक्त बनाउँदै लैजाने योजना उनले व्यक्त गरेकी छन्। यस सहकार्यले शिवाकोटीको कलाकारिताको पहिचानसँगै व्यावसायिक र उद्यमशील छवि निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।