सुचना, समाचार र मनोरन्जन

व्यापारमा कमजोर बनेको फिल्म क्षेत्रलाई ‘जार’ले उचाईमा लैजाने निर्माण पक्षको विश्वास

काठमाडौं :

फूवा छिरिङ लामा निर्देशित फिल्म ‘जार’ले नेपाली सिनेमालाई नै उचाई दिने निर्माणपक्षले बताएका छन्। उनले ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने बताए।

वैशाख २६ गते प्रदर्शन हुने फिल्म विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक लामाले बताए। उनले मिडियासँगको कुराकानीमा भने,‘विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ। त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु। प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ। प्राविधिक पक्ष बलियो होस् भनेर पोस्ट प्रोडक्सनको कतिपय काम हामीले भारतमा गरेका छौँ।’ प्रस्तुतिमा कलाकारले कठोर मेहनत गरेको उनले बताए । बजारमा को कलाकार कस्तो भन्दा पनि कथाले कस्तो पात्र माग्छ त्यसका आधारमा कलाकार छनोट गरिएको निर्देशक लामाले बताए।

सिनेमाको कुनै पनि पक्ष कमजोर नहोस् भनेर सुरुमै सचेत भएर काम गरिएको उनको भनाइ छ। फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो। सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई सिनेमा समेट्ने निर्देशक लामा बताउँछन्।

उनले थपे,‘इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ । त्यसैले कथा जति राम्रो छ, त्यो भन्दा सिनेमा भिजोअल ल्याङ्ग्वेजमा थप बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ।’

साहित्यकार राईले सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेका कथा लेखेका थिए । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छ। गीताञ्जली थापा ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन्। होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका छन्।

सिक्किममा छायांकन गरिएको चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ।
फिल्म ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ। यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ।

Leave A Reply

Your email address will not be published.