काठमाडौं/
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मधेशवादी दलहरू अब एक हुने ठूलो सम्भावना रहेको बताउँदै उनले कांग्रेस–एमाले बाहेकका सबै दल सडकमा आउने सम्भावना रहेको जिकिर गरे ।
‘मधेशवादी दलहरू एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा विरलै हुने कुरा हो,’ उनले भने, ‘मधेश केन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरू बाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’
सरकारका पछिल्ला केही निर्णयहरूले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको उनको भनाइ थियो ।