काठमाडौँ,
नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेलगत्तै काठमाडौंमा जारी विशेष महाधिवेशनस्थलमा आक्रोश पैदा भएको छ । विशेष महाधिवेशन पक्षधरले देउवा पक्षको विरोधमा चर्को नाराबाजी लगाउँदा स्वयं थापा र शर्माले कारबाही अर्थहीन भएको बताएका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएको भनिएको महाधिवेशनस्थलबाटै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग भएको घोषणा गर्दै गगन थापालाई नयाँ सभापतिको रूपमा अघि सारिएको छ ।
केन्द्रीय समितिले कारबाही गरेलगत्तै महाधिवेशनस्थलमै पत्रकार सम्मेलन गगन थापाले देउवा पक्षको निर्णयलाई ‘वाहियात’ को संज्ञा दिए। उनले आफूहरूले आज बिहान मात्रै सभापति देउवाको निवासमा पुगेर सहमतिको प्रयास गरेको तर सुनुवाइ नभएको खुलासा गरे। थापाले आक्रोशित मुद्रामा भने, ‘यो कारबाहीको निर्णय र हिजोको प्रस्ताव दुवै वाहियात हुन्। कसैको मनमा केही होला, तर यो प्राइभेट कम्पनी होइन, जसले जसलाई मन लाग्यो निकाल्नलाई।’
थापाले विशेष महाधिवेशनको हलबाटै देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग भइसकेको बताए । उनले भने, ‘हाम्रो केन्द्रीय कार्यसमिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको समिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौँ।’ उनले आफूहरू नै असली कांग्रेस भएको र बीपी तथा गणेशमानको वास्तविक सन्तान भएको दाबी गर्दै कार्यकर्तालाई नडराउन र नअल्मलिन आग्रह गरे। उनले निर्वाचन आयोग र देशको संविधानप्रति आफूहरूको पूर्ण भरोसा रहेको बताउँदै वैधानिकता आफूहरूसँगै रहने जिकिर गरे।
थापापछि सम्बोधन गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको हलबाट गगन थापालाई पार्टीको नयाँ सभापति घोषणा गरिने बताए । उनले भने, ‘अबको केही मिनेटपछि नेपाली कांग्रेसको सभापति गगनकुमार थापा हुँदै हुनुहुन्छ।’ मन्सुरले शेरबहादुर देउवाले विगतमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएको इतिहास स्मरण गराउँदै अहिलेको विशेष महाधिवेशनले नै कांग्रेसको मूल प्रवाहको प्रतिनिधित्व गर्ने दाबी गरे। उनले देउवा पक्षको कारबाहीलाई हलमा उपस्थित प्रतिनिधिहरूद्वारा खारेज गराएका थिए।
यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले भने कारबाहीको निर्णयप्रति व्यंग्य गर्दै त्यसलाई ‘हास्यास्पद’ बताए। उनले आफूले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएर पुनः सोही पदमा उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पदबाट हटाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे।
‘प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्रीमा उम्मेदवारी दर्ता गरिसक्नुभयो। म त बिहानै पदमुक्त भइसकेँ, अब मलाई महामन्त्रीबाट कारबाही गर्नु भनेको हास्यास्पद हो,’ शर्माले भने। उनले उपस्थित हजारौं प्रतिनिधिलाई दुवै हात उठाएर संस्थापन पक्षको कारबाहीलाई अस्वीकार गर्न लगाए। शर्माले देश बनाउने हुटहुटी बोकेका युवाहरूलाई रोक्न खोजिएको भन्दै अबको कांग्रेस गगन थापाको नेतृत्वमा अघि बढ्ने उद्घोष गरे।
विशेष महाधिवेशन स्थलमा उपस्थित कार्यकर्ताले हात उठाएर देउवा पक्षको कारबाही अस्वीकार गर्दै ‘जय नेपाल को नारा लगाएका थिए।–रातोपाटी