सुचना, समाचार र मनोरन्जन

रोहित भन्छन्– कथा मन परेकाले ‘मिरमिरे’मा लगानी गरेँ

काठमाडौं :

फिल्म वितरक रोहित कट्टेल पहिलोपटक फिल्म निर्माणमा प्रवेश गरेका छन्। फिल्म वितरण कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित फिल्म ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन् ।

लामो समयदेखि फिल्म वितरण गर्दै आएका उनी किन निर्माता बने? फिल्मको कथा मन परेपछि आफू निर्माणमा अग्रसर भएको रोहितको भनाइ छ ।

“निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो पहिलो फिल्म हो। जब निर्देशक यम शेर्पाले मलाई यो फिल्मको कथा सुनाउनुभयो, कथा मन पर्यो,” रोहित भन्छन्, “राम्रो कथामा फिल्म निर्माणको प्रस्ताव आउँदा किन सहकार्य नगर्ने भन्ने सोचेर लगानी गरेको हुँ ।”

बाबु र छोरीबीचको कथाले आफूलाई निकै ‘टच’ गरेको रोहित बताउँछन्। राम्रो कथामा फिल्म निर्माणका लागि आफू सधैँ तयार रहेको उनको भनाइ छ। कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो फिल्म दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको उनी बताउँछन्।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन् । फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल हुन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Leave A Reply

Your email address will not be published.