काठमाडौं :
अभिनेत्री दिव्या रायमाझीले ‘राम नाम सत्य’मा अभिनय गर्ने भएकी छन्। उनले यस फिल्ममा दुई एक्सन अभिनेतासँग पर्दा शेयर गर्ने भएकी हुन्। यस फिल्ममा दिव्याले विराज भट्ट र सुशिल श्रेष्ठसँग स्क्रिन सेयर गर्ने पक्का भएकी हो। किनभने यसअघि यो फिल्ममा दुवै अभिनेता अनुबन्ध भइसकेका छन्।
माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्ममा साउनबाट फ्लरमा जाने निर्माणपक्षको तयारी छ। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ । यस फिल्मका निर्माता उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ रहेका छन्। फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन्।
यो फिल्ममा दर्शकले एक्सन,पारिवारिक, प्रेम र सस्पेन्स पाउने निर्माण पक्षको दाबी छ। अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ। फिल्म ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो।