सुचना, समाचार र मनोरन्जन

दिया पुन ‘मैझारो’मा अनुबन्धित, छायांकन साउनदेखि सुरु हुने

काठमाडौं :

अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘मैझारो’मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार पुनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

यसअघि फिल्मका लागि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर अनुबन्धित भइसकेका थिए। पुनको प्रवेशसँगै फिल्मका मुख्य कलाकारहरूको टिम विस्तार भएको निर्देशक राईले जनाएका छन्। उनले भने, “कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं। अन्य कलाकारको चयन प्रक्रिया जारी छ।”

‘मैझारो’ तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिचर फिल्म हो। निर्देशक राईको लेखन तथा निर्देशनमा पहिलो डेब्यु प्रोजेक्टका रूपमा रहेको फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित रहेको बताइएको छ।

फिल्मको छायांकन साउनको पहिलो साताबाट सुरु हुने र ईलाम तथा पाँचथरका रमणीय स्थानहरूमा खिचिने तयारी गरिएको छ। छायांकन सौरभ लामाले गर्नेछन् भने संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले तयार पार्नेछन्। गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर समावेश हुने जनाइएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारहरूको नाम केही दिनभित्र सार्वजनिक गरिनेछ।

Leave A Reply

Your email address will not be published.