काठमाडौं :
अन्तरजातीय प्रेमकथामा आधारित नेपाली फिल्म ‘जदौ’ मा अभिनेता प्रभातपाल ठकुरी अनुबन्धित भएका छन्। पछिल्ला समयका चर्चित मोडल तथा अभिनेता ठकुरीलाई यस फिल्ममा अभिनेत्री नीति शाह को जोडीका रूपमा प्रस्तुत गरिने भएको छ।
निर्देशकको नाम हालसम्म सार्वजनिक गरिएको छैन भने फिल्मको लेखक तथा परिकल्पनाकार काजी लिम्बू हुन्। निर्माण पक्षका अनुसार, यसअघि नै मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र बिनोद न्यौपाने फिल्ममा अनुबन्ध भइसकेका छन्।
फिल्ममा वरिष्ठ कलाकारहरूसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित रहेको र आफू विशेष तयारीमा जुटेको प्रभातपालले बताएका छन्। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट को संयुक्त निर्माणमा बन्ने फिल्मका सहनिर्माता रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री रहेका छन्। निर्माण व्यवस्थापन बुद्धि माझी ले गर्नेछन्।
छायांकन भदौको पहिलो साताबाट सुरु हुने जनाइएको छ। फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा खिचिनेछ। बिमला भण्डारी ९सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक० का अनुसार फिल्मको विस्तृत जानकारी केही दिनभित्रै प्रेसमिट मार्फत सार्वजनिक गरिनेछ। फिल्ममा बाबुल गिरीको संगीत र श्याम तामाङको छायांकन रहनेछ।