काठमाडौं :
शुक्रवार (भोली)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। बुधबारबाट नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलले बुकिङ खुला गरेको हो। अन्य केही हलहरूले पनि बुकिङ खुलाएको देख्न सकिन्छ।
यस फिल्मका वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला भइसक्ने छ। उनले देशभर करिब १२० शो प्राप्त हुने अनुमान गरेका छन्। यो फिल्मले प्रदर्शनका लागि २ दिन अगावै सेन्सर गराएको छ। केन्द्रीय चलचित्र जाँच पास समितिबाट यो फिल्मले ‘पिजी’प्रमाणपत्र पाएको छ। अब यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन्।
अरुण लामाले निर्देशन गरेका यो फिल्ममा सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रणको स्वाद दर्शकले पाउने छन्। निर्देशक
लामाले फिल्मको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् भने अभिनयमा पनि उनकै प्रमुख भूमिका रहेको छ। फिल्मका लामाका अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।