काठमाडौंँ :
फिल्म ‘खजुरे ब्रो’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी नीति शाहको एकपछि अर्को सफलता मिलिरहेको छ। उनले अभिनय गरेको दोस्रो फिल्म ‘ज्वाइँ साब’बाट दर्शकको प्रशंसाका साथै हिट अभिनेत्री बनाएपछि उनको हातमा फिल्म नै फिल्म परेका छन्।
अब उनले अभिनय गरेको अर्को फिल्म ‘मोअर’को पनि प्रदर्शन मिति तोकिएको छ। वितरकसँगको छलफलबाट फिल्मको रिलिज साउन २३ गते तय भएको निर्देशक ओम प्रतिकले जानकारी दिएका छन्। यस फिल्ममा नीति शाहले पल शाह, बेनिशा हमाल,अर्जुनजंग शाही लगायतका कलाकारसँग मुख्य भूमिकामा अभिनय गरेकी छन्। यसअघिको फिल्म प्रचारप्रसारका क्रममा अभिनेत्री शाहले पलसँग फिल्म खेल्ने चाहाना रहेको बताएकी थिइन्।
निर्देशक प्रतिकै कथा रहेको यो फिल्मलाई चुम्बनजंग शाहीको निर्माण गरेका हुन्। काठमाडौँ, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा छायांकन गरिएको यो फिल्ममा दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको छ। ओमले यसअघि थुप्रै फिल्म तथा टेलिफिल्म निर्माण गरिसकेका छन्।