सुचना, समाचार र मनोरन्जन

पोखरामा महानगरीय प्रहरी ब्यारेक तथा विपद् न्यूनीकरण केन्द्र उद्घाटन

पोखरा,

नयाँ वर्ष २०८३ को अवसरमा पोखरा महानगरपालिकाले महानगरीय प्रहरी बलको सुविधा सम्पन्न ब्यारेक तथा विपद् तथा जोखिम न्यूनीकरण केन्द्र उद्घाटन गरेको छ।

मङ्गलवार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले उक्त ब्यारेक तथा केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको हो। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले आधुनिक पूर्वाधारसहितको ब्यारेक र विपद् व्यवस्थापन केन्द्रले महानगरको सुरक्षा व्यवस्थापन तथा आपतकालीन उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै नागरिकको जिउधनको सुरक्षामा महानगर प्रतिबद्ध रहेको समेत बताउनुभयो।

उहाँका अनुसार नयाँ संरचनाले महानगरीय प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा छिटो तथा समन्वयात्मक प्रतिक्रिया दिन महत्वपूर्ण भूमिका खेल्नेछ।

त्यस्तै कास्कीका प्रमुख जिल्लाा अधिकारी रुदादेवि शर्माले अवका दिनमा विपद आईसकेपछि भन्दा पनि विपद आउनै नदिने गरि पुर्वाधारका काम गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको विकासको लागि सबै तह सहकार्य गरि अघि बढ्नुपर्ने शर्माको भनाई छ ।

कार्यक्रममा जनप्रतिनिधि, महानगरका कर्मचारी, महानगरीय प्रहरी बलका अधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

महानगरपालिकाले पछिल्लो समय शहरी सुरक्षा तथा विपद् व्यवस्थापनलाई सुदृढ बनाउन पूर्वाधार विकासलाई तीव्रता दिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.