सुचना, समाचार र मनोरन्जन

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

 

अर्घाखाँची : कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन्। संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधिमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्ने क्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ।

 

सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको संख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो। नेपाल, भारत, पाकिस्तान र बांगलादेशमा ठूलो संख्यामा गिद्ध मरेका भेटिएपछि यसको कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो।

 

डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो। त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको संख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो।

 

दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसंकटापन्न, एक संकटापन्न र दुई प्रजाति संकटको नजिक पुगेका थिए। गिद्धको संख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए। बांगलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो। त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरण जस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पुर्‍याएको हो।

 

हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको संख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालले बताए। अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको संख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ। यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्ष समेत रहेका भुसालले बताए।

 

सडक मार्गमा नियमित रूपमा गिद्ध गणना गर्नुका साथै गुँडको निगरानी गरेर यस्तो निष्कर्ष निकालिएको हो। भुसालका अनुसार गिद्धको संख्या घटिरहेको अवस्थालाई रोक्दै पुनः वृद्धि हुने अवस्थामा पुर्‍याउने नेपाल पहिलो मुलुक बनेको छ। यस अध्ययनमा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्याग समेत प्रयोग गरिएको थियो।

 

कुल ७० वटा डङ्गर गिद्धलाई ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले जानकारी दिए।

 

Protin

गिद्धको संख्या बढ्नुमा बाँच्ने दर मात्रै होइन, प्रजनन सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ। नेपालमा सन् २००७ देखि गिद्धका गुँडको अनुगमन हुँदै आएको छ। सन् २००७ देखि २०२५ सम्म ६ हजार ४१० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीले बताए।

 

समयसँगै गुँडको सफलता दर समेत बढ्दै गएको छ। विशेष गरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन सफलतामा सुधार देखिएको छ। यसले नेपालमा गिद्धको संख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै राम्रो प्रजननले पनि महत्वपूर्ण योगदान गरेको पुष्टि गर्छ।

 

नेपालमा गिद्धको संख्या तीव्र रूपमा बढेपछि अनुसन्धानकर्तासामु अर्को प्रश्न खडा भएको थियो–के भारतबाट ठूलो संख्यामा गिद्ध नेपाल प्रवेश गरेकाले यहाँको संख्याबढेको हो ? ‘स्याटेलाइट ट्याग’ लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको संख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ।

 

वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो। त्यसैले नेपालमा गिद्धको संख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था भएको देखिएको छ। गिद्ध संरक्षणमा चर्चित बनेको जटायु रेस्टुरेन्टले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको संख्या बढ्नुको कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ।

 

जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै गिद्धको संख्या तीव्र गतिमा बढेको नभई देशका अन्य क्षेत्रमा पनि वृद्धि देखिएको छ। यसले सुरक्षित आहार, औषधि नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागितासहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको संकेत गरेको छ।

 

गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध संकटबाट पूर्णरूपमा बाहिर आइसकेको अवस्था भने छैन। नेपाल पंक्षी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको संख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा संख्या अझै निकै कम छ।

 

अहिले प्राप्त सफलता जोगाउन संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ। वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेन जस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने सुझाव दिएका छन्। भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ।

 

गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिन्छ। सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ। नेपालको आकाशमा फेरि गिद्धका बथान देखिन थालेका छन्।

Leave A Reply

Your email address will not be published.