सम्पादकीय,
त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपाली उच्च शिक्षाको गौरवशाली इतिहास बोकेको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । तर पछिल्लो दशकहरूमा यो गौरव संकटमा छ । शैक्षिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रका विकृति, राजनीति र स्वार्थको अखडा बन्न पुगेको यो संस्थाको अवस्था सुधार्ने गहन जिम्मेवारी अहिले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालका काँधमा आएको छ ।
मुलुकभरका उच्च शिक्षा अध्ययनरत करिब ८० प्रतिशत विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस विश्वविद्यालयलाई गतिशील र विश्वसनीय बनाइराख्नु वर्तमान नेतृत्वको ठूलो चुनौती हो ।
गत चैत्र १५ देखि रिक्त उपकुलपति पदमा जल तथा मौसम विभागका प्राध्यापक डा. दीपक अर्यालको नियुक्ति भएकै दिनदेखि आशा र शंका दुवै उब्जिएका छन् । उनलाई ‘देशको मौसमको अध्येता’ मात्रै नभई ‘त्रिविको बिग्रिएको मौसम सुधार्ने नेतृत्वकर्ता’ को रूपमा पनि हेरिएको छ । यो विश्वास उनी आफैंको व्यक्तिगत योग्यताले मात्र होइन, उनले अब लिनुपर्ने साहसिक निर्णय र दीर्घकालीन रणनीतिले प्रमाणित गर्ने हो ।
आज त्रिवि राजनीतिक हस्तक्षेप, संगठनगत दवाब, प्राध्यापक र कर्मचारीको भागबण्डा, विद्यार्थी संगठनको अराजकता, तालाबन्दी र अनिश्चितताको चक्रव्यूहमा फसेको छ । विडम्बना, पाँच लाखभन्दा बढी विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिएको यो संस्थामा परीक्षा परिणाम समयमै आउँदैन, कक्षा नियमित हुँदैन, पाठ्यक्रम अद्यावधिकमा ढिलाइ हुन्छ । प्रशासनिक काम कति झन्झटिलो छ भन्ने कुरा त्रिविमा एक पटक काम लिएर गएका विद्यार्थी वा कर्मचारीलाई मात्र थाहा हुन्छ । पछिल्लो उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा पनि यसै विग्रहको प्रतिफल थियो । स्वास्थ्य समस्या देखाए पनि संस्थागत सुधारमा देखिएको निराशा, राजनीतिक हस्तक्षेप र सुधार गर्न नसक्ने बाध्यता नै राजीनामाको मूल पृष्ठभूमि थियो भन्ने बुझाइ छ ।
प्रा.डा. अर्याल मौसम विज्ञानका विज्ञ हुन् । तर अहिले उनी प्राकृतिक मौसम सुधार्ने होइन, त्रिविको ‘प्रदूषित’ शैक्षिक र संस्थागत मौसम शुद्ध पार्ने जिम्मेवारीमा आएका छन् । यो संयोग मात्र होइन, नेपालको उच्च शिक्षामा नयाँ गति ल्याउने अवसर पनि हो । तर यो अवसर सजिलो छैन । विश्वविद्यालयमा समस्या नभएको निकाय खोज्न गाह्रो छ । अर्बौंको भौतिक संरचना र ऐतिहासिक पुँजी हुँदाहुँदै पनि त्रिवि आर्थिक रूपमा कमजोर बन्दै गएको छ । सरकारी अनुदानमा निर्भरता अझै पनि हट्न सकेको छैन । आफ्नै स्रोतसाधनको अधिकतम उपयोग गर्ने सोच, योजना र कार्यान्वयनमा देखिएको कमजोरीकै कारण आज त्रिवि ‘दिगो स्वावलम्बी’ बन्न सकिरहेको छैन ।
वर्षौंसम्म परीक्षा परिणाम नआउनु, कक्षाको ठोस तालिका नहुनु र पाठ्यक्रम परिवर्तनमा ढिलाइ हुनु त्रिविको चरित्र बनेको छ । यो सुधार्न सके मात्र विद्यार्थीमा विश्वविद्यालयप्रतिको भरोसा पुनःस्थापना हुनेछ । विद्यार्थी संगठन, प्राध्यापक संगठन र कर्मचारी संगठनहरू प्रायः राजनीतिक दलको प्रतिनिधि बनेका छन् । सुधारका नाममा हुने आन्दोलन, तालाबन्दी र तोडफोडले विश्वविद्यालयलाई ठूलो नोक्सान पु¥याएको छ । यसमा कठोर निर्णय गर्न सक्ने दृढता र चातुर्य दुवै चाहिन्छ ।
विश्व वरीयतामा हजारभन्दा तल झरेको त्रिविको छवि फर्काउन अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने खालका अनुसन्धान, नवप्रवर्तन र शैक्षिक सुधार आवश्यक छन् । केवल प्रशासनिक सुधारले पुग्दैन, गुणस्तरीय शैक्षिक वातावरण सिर्जनाले मात्र यसको साख फर्काउँछ । उनले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, शैक्षिक योगदान र व्यवस्थापकीय क्षमतालाई एउटै मोडमा जोडेर परिणाममुखी नेतृत्व देखाउनुपर्छ । विद्यार्थी र शिक्षक दुवैमा आशा जाग्ने निर्णय गर्नु अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ ।
विश्वविद्यालय कुनै पनि राष्ट्रको ज्ञान उत्पादन गर्ने केन्द्र हो । त्रिविले भने पछिल्लो समय आफैंका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकेको छैन । संस्थागत सुधारका लागि नेतृत्वको साहसिक निर्णय क्षमता अपरिहार्य छ । नयाँ उपकुलपतिले समस्या चिह्ने मात्र होइन, समाधानको व्यावहारिक बाटो पहिल्याउनु पर्छ । सरकारको भरमा बस्ने अवस्थाबाट विश्वविद्यालयलाई मुक्त गर्न आफ्नै स्रोतसाधनको दिगो व्यवस्थापनमा जोड दिनुपर्छ ।
विश्वस्तरीय अनुसन्धान, परामर्श सेवा, तालिम र टेक्नोलोजी ट्रान्सफर जस्ता क्षेत्रमा लगानी गर्न सक्ने वातावरण तयार पार्नु पर्छ । ढिलासुस्ती र अन्योल हटाएर शैक्षिक क्यालेन्डरलाई कडाइका साथ पालना गरिनुपर्छ । अनुसन्धानमुखी शिक्षण, गुणस्तरीय पठनपाठन र विद्यार्थीमाझ प्रत्यक्ष लाभ पु¥याउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । त्रिवि भित्रका राजनीतिक दलका विद्यार्थी संगठन र कर्मचारी÷प्राध्यापक संघहरूले लामो समयदेखि आफ्नो प्रभाव जमाएर तालाबन्दी, काम रोकावट र अनावश्यक दबाब सिर्जना गर्दै आएका छन् । यी संरचनासँग समन्वय गर्दै आवश्यकता परे कठोर निर्णय लिन सक्ने नेतृत्वको आँट अपरिहार्य छ ।
त्रिवि मात्र होइन, नेपालका अधिकांश विश्वविद्यालयको साख खस्कनुको मूल कारण राजनीतिक हस्तक्षेप हो । नियुक्ति प्रक्रिया, क्याम्पस व्यवस्थापनदेखि पाठ्यक्रम निर्माणसम्म दलीय भागबन्डा प्रभावशाली हुन्छ । यही कारण विश्वविद्यालयमा प्राज्ञिक अनुशासनभन्दा संगठनको प्रभाव हावी छ । परिणामतः विद्यार्थीको पठनपाठन, परीक्षा र नतिजा समयमै नआउने, आन्दोलन र तालाबन्दीले शैक्षिक वातावरणलाई क्षतिग्रस्त बनाउने, प्राध्यापक नियुक्ति राजनीतिक समीकरणमा हुने र शैक्षिक अनुसन्धानमा लगानी नहुने विडम्बना छ ।
त्रिविको बिग्रिएको अवस्था सुधार्न सक्नु भनेको नेपाली उच्च शिक्षालाई पुनः गौरवशाली बनाउनु हो । प्रा.डा. अर्यालका लागि यो नेतृत्व उनको करियरको सबैभन्दा ठूलो चुनौती मात्र होइन, एउटा ऐतिहासिक अवसर पनि हो । यदि उनले साहस, पारदर्शिता र दूरदृष्टिसहित नेतृत्व गर्न सके भने त्रिवि फेरि पनि नेपाली समाजको ज्ञान केन्द्र र विश्वासको प्रतीक बन्न सक्छ । असफल भएमा भने