काठमाडौं:
फिल्म ‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा गायक–संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत पनि स्वयं राजनराजले भरेका छन्।
लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँघरमा बोलिने मिठासपूर्ण शब्द र लयका कारण गीत क्याची बनेको निर्माण पक्षको दाबी छ। गीतमा प्रेमी–प्रेमिकाबीचको आकर्षण, मायामोह र आपसी भावनालाई प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा तेज गिरी,बिमला लिम्बू र बारत लिम्बूको अभिनय देख्न सकिन्छ। विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरूको नृत्य र भिजुअल पक्षलाई प्राथमिकता दिइएको छ।
महाशिवरात्रिको अवसर पारेर फिल्म ‘शिवांश’ फागुन १ गतेदेखि प्रदर्शनमा आउनेछ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्मका निर्माता अञ्जान केसी हुन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चौराउटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दनलगायत कलाकारको पनि अभिनय रहेको छ।
