सुचना, समाचार र मनोरन्जन

अबिशेक खड्का–आकृति राजभण्डारीलाई हेर्न पोखरामा ७ हजार दर्शक

पोखरा :

माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको सहभागिता देखिएको छ । शनिवार साँझ हल्लनचोकमा सम्पन्न कार्यक्रममा कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा उक्लिनासाथ दर्शकको हुटिङ चर्किएको थियो ।

दुवै कलाकारले फिल्मको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दै पोखरेली दर्शकलाई उत्साहित बनाए । उनीहरूले स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘कुमारी’ हलमा हेर्न आग्रह गरे ।

कन्सर्टमा पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले फिल्मका गीत ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरेका थिए । केहरले स्वर दिएका सबै गीतमा दर्शक खुलेर झुमेका देखिन्थे ।

पोखरामा देखिएको कलाकारप्रतिको क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए । उनले दर्शकको उपस्थितिले फिल्मप्रति थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्म ‘कुमारी’को प्रवर्द्धन यात्रा नेपालगन्जबाट सुरु भएको हो । फिल्म टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुति दिनेछ । आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष कन्सर्टमा फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरिने तयारी छ ।

Leave A Reply

Your email address will not be published.