काठमाडौँ :
असोज महिनामा प्रदर्शनका लागि तय भएका ६ मध्ये दुई फिल्म ‘जारी २’ र ‘अभिमन्यु’ जेनजी आन्दोलनका कारण स्थगित भएपछि असोजमा चार फिल्म मात्र रिलिज भए। दसैंमा प्रदर्शन भएका ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’को कारोबार अपेक्षाकृत कमजोर रह्यो।
सिनेपाः बक्सअफिसका अनुसार २६ असोजसम्म ‘बलिदान’ले ४ करोड ७९ लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४६ लाख रुपैयाँ कमाएका छन्।
असोज ३१ गते अनमोल केसीको ‘जेरी अन टप’ रिलिज हुँदैछ। कात्तिकमा भने सात नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् — ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’, ‘परान’, ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’।
तिहार छेकोमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ भाइटीकाको दिन (कात्तिक ६) रिलिज हुने छन् भने ‘मैझारो’ भोलिपल्ट प्रदर्शनमा आउँछ।
कात्तिक १४ मा ‘परान’ एक्लै आउनेछ भने कात्तिक २१ मा ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’ एकसाथ भिड्दैछन्। विशेषज्ञहरूका अनुसार कात्तिक महिनाले जेनजी आन्दोलनपछि सुस्ताएको नेपाली फिल्म बजारलाई पुनः सक्रिय बनाउने संकेत दिएको छ।