काठमाडौं :
साउनको सुरुवातसँगै प्रदर्शनमा आएको ‘गौंथली’ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको हो।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपा : बक्सअफिस’मा उक्त रकम कलेक्सन गरेको हो। प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ। १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ। फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ। ‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गीतकार डाक्टर भोला रिजालका छोरा डा.कपिल रिजालको निर्देशनमा बनेको यो फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ,प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डाक्टर भोला रिजालको कथामा रहेको यस फिल्मलाई पटकथा तथा संवाद डाक्टर कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको निर्माताको रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन मुकेश शाहको ध्वनि मिश्रण,राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ। ‘गौँथली’ नाममा भोलाले दुई दशकअघि फिल्म निर्माण गरेका थिए। उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। यस फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी छन्।