पोखरा/
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा पोखरामा रहेको लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु भएको महायज्ञ ५ दिनसम्म चल्नेछ ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘बैरागी’ ले संसार परिवर्तनशील रहेको बताए । अहिले संसारभर पदार्थ कि चेतना भनेर फरक–फरक दृष्टकोणमा बहस भएको बताउँदै उनले इतिहासप्रति गर्व, वर्तमानमा गतिशील बन्दै भविष्यप्रति आशावादी बन्नुपर्ने बताए ।
राजयोगिनी ब्रह्माकुमारी लभ्ली हिल शाखाकी निर्देशक सुधाजीले स्वागत् मन्तव्य राख्दै ज्ञानका सागर परमपिता शिव निराकार भएको बताइन् । उनले सबैले घरघरमा गीता राखेर पढेर यसको ज्ञान लिनुपर्ने सुझाव दिइन् ।
ब्रह्माकुमारी नेपाल अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परणीताले भागवत् गीताले आत्मा र परमात्मालाई जोड्ने काम गरेको बताइन् । उनले भनिन्, ‘गीताज्ञान् कथामात्रै होइन, अनमोल निधि हो । आजको समयमा गीताज्ञानको महत्व झन् बढेको छ । जुनसुकै पेशामा लाग्ने पात्रले गीता नपढी, ऊ जीवनमा सफल हुनै सक्तैन ।’ कार्यक्रममा प्रमिला र सदीक्षाले नृत्य प्रस्तुत गरे ।
महायज्ञमा राजयोगिनी ब्रह्माकुमारी अमृतले गीता ज्ञानको प्रवचन दिने छन् । दिनको ३ घण्टा कथावाचन हुने शिशिर रेग्मीले बताए ।