सुचना, समाचार र मनोरन्जन

दार्जिलिङकी अग्रज साहित्यकार चन्द्रमीत लक्सम गीतकार सङ्घ नेपालद्वारा अभिनन्दित

काठमाडौं :

दार्जिलिङकी अग्रज साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार सङ्घ नेपालले अभिनन्दन गरेको छ। सङ्घले काठमाडौंस्थित आफ्नै कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो।

गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व तथा सल्लाहकार वरिष्ठ गीतकार एवम् पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साहित्यकार लक्समलाई अभिनन्दनपत्र प्रदान गरिएको थियो।

दार्जिलिङको पाँचपोखरीमा सन् १९४२ मा जन्मिएकी चन्द्रमीत लक्समले गीत, कविता, अभिनय तथा उद्घोषण विधामा उल्लेखनीय योगदान दिएकी छन्। उनका चर्चित गीतहरूमा ‘फूल फुल्न नदेऊ मलाई’, ‘लैजाउ कतै समाल’ लगायत रहेका छन्। उनका गीतमा कर्म योञ्जन, अशोक राई, वसन्त क्षेत्री, गगन गुरुङलगायतका संगीतकारले संगीत भरेका छन्।

त्यसैगरी, उनका सिर्जनालाई प्रेमध्वज प्रधान, अरुणा लामा, कुमार सुब्बा, लोचन भट्टराई, डेजी बराइली र पवन गोलेलगायत प्रतिष्ठित गायक–गायिकाले स्वर दिएका छन्।

अभिनन्दनपछि प्रतिक्रिया दिँदै साहित्यकार चन्द्रमीत लक्समले गीतकार सङ्घ नेपालप्रति आभार व्यक्त गर्दै यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताइन्। उनले नेपाली भाषा र साहित्य भूगोलभन्दा माथि रहेको उल्लेख गरिन्।

कार्यक्रममा प्रमुख अतिथि एसपी कोइरालाले दार्जिलिङ नेपाली भाषा–साहित्यको उर्बर भूमि भएको उल्लेख गर्दै चन्द्रमीत लक्समको योगदान अनुकरणीय रहेको बताए। उनले गीतसङ्गीत र साहित्यमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्नु सङ्घको दायित्व भएको धारणा राखे।

कार्यक्रम समापन गर्दै अध्यक्ष वसन्त बित्यासी थापाले अग्रज साहित्यकार लक्समलाई अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गर्दै दार्जिलिङ र गीतकार सङ्घबीचको सम्बन्ध सधैं सशक्त रहेको बताए। कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष रमेश कोइरालाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.