सुचना, समाचार र मनोरन्जन

असोज ७: संरक्षण क्षेत्रका दिवङ्गत व्यक्तित्वहरूको योगदानको स्मरण

काठमाडौँ :

ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका संरक्षणविद्हरूको योगदानको स्मरण गर्दै असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाइएको छ।

Gandarbha

दिवसका अवसरमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी दुर्घटनामा दिवङ्गत भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण, फोटोमा माल्यार्पण तथा दीपप्रज्वलन गरेको छ। कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न २०औँ स्मृति दिवस कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा काठमाडौँ जिल्ला बार एसोसिएसनका निवर्तमान अध्यक्ष आर.सी. विमल, विज्ञान अर्याल, सन्तोष चौलागाईँ, सविना न्यौपाने, ज्योति गिरी र नवराज पाठकलगायतका अतिथिहरूको उपस्थिति थियो। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा ज्यान गुमाएका २४ जनाकै अर्धकदको शालिक काठमाडौँको रामकोटमा स्थापना गरिसकेको छ।

वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष (WWF) नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भई फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटना भएको थियो। सो दुर्घटनामा तत्कालीन वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, प्रसिद्ध भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक नारायण पौडेलसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए।

Leave A Reply

Your email address will not be published.