सुचना, समाचार र मनोरन्जन

‘विवाद होइन, तथ्य खोजौँ; नियमित अन्तर्राष्ट्रिय उडानका लागि पोखरा एकजुट बनौँ ’: गोकर्ण कार्की

पोखरा :

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भइरहेका बहस, आरोप–प्रत्यारोप र विभिन्न धारणाबीच तथ्य र यथार्थमा आधारित छलफल आवश्यक रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालबाट आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्दै कार्कीले विमानस्थल निर्माणमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचार भएको प्रमाणित भए प्रचलित कानुनअनुसार पारदर्शी रूपमा कारबाही हुनुपर्ने बताएका छन्। तर अनियमितताको छानबिन र विमानस्थलको सञ्चालन तथा भविष्यलाई एउटै विषय बनाएर हेर्न नहुने उनको आशय छ।

कार्कीले विमानस्थलको चिनियाँ वित्तपोषण र बीआरआईसम्बन्धी विषयमा समेत स्पष्टता आवश्यक रहेको बताएका छन्। चीनबाट प्राप्त सहयोग अनुदान हो वा ऋण हो भन्ने विषयमा नागरिकस्तरमा अन्योल रहन नहुने भन्दै उनले सम्बन्धित सरकार तथा निकायबाट आधिकारिक र स्पष्ट जानकारी आउनुपर्ने माग गरेका छन्।

विमानस्थलको प्राविधिक क्षमतामाथि उठिरहेका प्रश्नबारे पनि अनुमानभन्दा प्राविधिक तथ्य र वास्तविक उडानको विवरणका आधारमा बहस हुनुपर्ने उनको धारणा छ। हालैका अन्तर्राष्ट्रिय उडानसहित यसअघि भएका अन्तर्राष्ट्रिय उडानलाई समेत अध्ययन गरेर विमानस्थलको क्षमता मूल्यांकन गर्नुपर्ने उनले बताएका छन्।

कार्कीले विमानस्थललाई ‘सेतो हात्ती’ भनेर टिप्पणी गर्नुअघि यसको वास्तविक क्षमता, हालको सञ्चालन अवस्था, यात्रु तथा उडानको तथ्यांक र दीर्घकालीन सम्भावनाको अध्ययन गर्न आग्रह गरेका छन्।

Pach Pandav

विमानस्थलको पूर्वाधार आवश्यकताभन्दा बढी बनाइएको भन्ने बहसबारे कार्कीले पोखराको अत्यधिक वर्षा हुने भौगोलिक तथा मौसमी अवस्थालाई समेत ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको नेतृत्वमा रहेको पोखरा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिमा पूर्वाधारलाई दीर्घकालीन र बलियो बनाउने विषयमा छलफल भएको थियो।

उनले भारततर्फको हवाई मार्ग र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक कूटनीतिक पहललाई पनि महत्वपूर्ण विषयका रूपमा उठाएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानसँग जोड्न संघीय सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने धारणा कार्कीले यसअघि पनि सार्वजनिक रूपमा राखेका थिए।

कार्कीले पोखरा विमानस्थललाई सैन्य विमानस्थलका रूपमा चित्रण नगरी नागरिक उड्डयन पूर्वाधारकै रूपमा बुझ्नुपर्ने बताएका छन्। छिमेकी मुलुकसँग आवश्यक हवाई मार्ग तथा अन्य सहजीकरणका विषयमा नेपाल सरकारले कूटनीतिक संवादलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले लामो समयसम्म आवाज उठाएको स्मरण गर्दै उनले अब विमानस्थल बन्यो कि बनेन भन्ने बहसभन्दा यसलाई कसरी पूर्ण क्षमतामा सञ्चालन गर्ने र नियमित अन्तर्राष्ट्रिय उडान कसरी दिगो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्।

यसका लागि राजनीतिक दल, निजी क्षेत्र, पर्यटन व्यवसायी, स्थानीय तथा प्रदेश सरकार, नागरिक समाज र आम पोखरेली एउटै उद्देश्यमा उभिनुपर्ने उनको आग्रह छ। आवश्यक परे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि एउटा बलियो नागरिक सरोकार समिति गठन गरेर संस्थागत रूपमा पहल गर्न सकिने प्रस्तावसमेत उनले अघि सारेका छन्।

कार्कीले पछिल्लो समय पोखरा–दुबई नियमित उडानलाई दिगो बनाउने विषयमा पोखराका पर्यटन तथा व्यावसायिक क्षेत्रसँगै पहल गर्दै आएका छन्। अगस्ट २०२६ मा पोखराका व्यावसायिक तथा पर्यटन प्रतिनिधिले यूएईका राजदूतसँग पोखरा–दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा छलफल गरेका थिए, जसमा कार्की पनि सहभागी थिए।

“विमानस्थलमाथि प्रश्न उठ्नु स्वाभाविक हो, अनियमितता भए छानबिन र कारबाही पनि हुनुपर्छ। तर पोखराको भविष्यसँग जोडिएको यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न अब सबै पोखरेली एक भएर लाग्नुपर्छ,” भन्ने सन्देश कार्कीको धारणाको मूल सार देखिन्छ।

Leave A Reply

Your email address will not be published.