पोखरा :
नेपालीको प्रमुख पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्दै पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ। महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कोजाग्रत पूर्णिमाका दिन महोत्सव गर्न लागिएको हो।
महोत्सव आगामी कात्तिक ८ गते लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुनेछ। महोत्सवअघि सोही दिन बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन र्याली निकालिने आयोजकले जनाएको छ।ओटेफकी अध्यक्ष ममता न्यौपानेका अनुसार र्यालीमा पञ्चेबाजा, पर्यटनसम्बद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ।

महोत्सवको मुख्य आकर्षण स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिनु रहेको छ। यस्तै चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ तथा घुमाउने पिङसँगै विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति रहनेछन्।महोत्सवमा नेपाली मौलिक खानपान तथा खाद्य संस्कृतिको प्रदर्शन, परम्परागत सामग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक स्टलसमेत राखिने आयोजकले जनाएको छ। ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले दशैंको मौलिकता र सांस्कृतिक पक्षलाई पर्यटकसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
ओटेफकी निवर्तमान अध्यक्ष उमा भण्डारीले नेपालीको मौलिक पर्व दशैंलाई पर्यटनसँग जोडेर पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताइन् । उनका अनुसार महोत्सवले पोखराको पर्यटनमा सांस्कृतिक आयाम थप्दै स्थानीय संस्कृति, मौलिकता र समुदायको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवको मूल नारा ‘टीका, जमरा, चङ्गा चेट : पोखरामा पर्यटकसँग दशैं भेट’ तय गरिएको छ । महोत्सवको तयारी तथा व्यवस्थापनका लागि निवर्तमान अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महोत्सवको सहरका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पर्यटनमा थप विविधता ल्याउने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत जयशक्ति सराफले पर्यटनमा सांस्कृतिक आयामको महत्वपूर्ण भूमिका हुने भन्दै महोत्सव उपयोगी हुने धारणा राखे ।