काठमाडौं :
नयाँ वर्ष ०८३ को पहिलो दिनको अवसर पारेर चलचित्र ‘जदौ’को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत छन्।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित यस फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी रहेका छन्। श्याम तामाङले छायांकन गरेको फिल्मको स्क्रिप्ट निर्देशक काजी लिम्बुले नै लेखेका हुन्।
फिल्ममा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), विशाल पहाडी, सुन्दर धिताल र नरेश पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ।
पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रप्रति दर्शकको उत्सुकता बढ्न थालेको छ। निर्माण टिमले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। फिल्मको वितरण एनसिजीएनले गर्नेछ भने हाई टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनरका रूपमा रहेको छ।