सुचना, समाचार र मनोरन्जन

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा साझा प्रयास आवश्यक

गण्डकी,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक हुने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अन्नपूर्ण जलवायु सम्मेलन २०८३ अन्तर्गत जलवायु परिवर्तन र हिमालसम्बन्धी माछापुच्छ्रे संवादको आज पोखरामा उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तन चुनौतीका रूपमा देखिएको बताउनुभयो ।

पछिल्ला पुस्तालाई हाम्रा प्राकृतिक सम्पदाहरू सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले जलवायु परिवर्तनका कारण बढ्दो असरको न्यूनीकरण गर्नका लागि सजग बन्दै अघि बढ्नुपर्ने बताउनुभयो । “हाम्रा माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाललाई बचाउन नसकेमा त्यसबाट हाम्रो जनजीवनसमेत प्रत्यक्ष प्रभावित हुनेछ”, उहाँले भन्नुभयो, “वातावरणको संरक्षणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ ।”

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनले कृषि प्रणालीमा गम्भीर असर पारिहेको बताउनुभयो । मनाङ, मुस्ताङलगायत जिल्ला अझै जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै उहाँले बढ्दो तापमानले तराईका नवलपुरजस्ता जिल्लामा बाढीलगायतको असर परिरहेको उल्लेख गर्नुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले विश्वव्यापी रूपमा तापमान द्रुत रूपमा बढेको बताउँदै यसबारे बेलैमा सचेत नबने गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताउनुभयो । कार्वन उत्सर्जनसमेत तीव्र बढिरहेको बताउँदै उहाँले अरूले कार्वन उत्सर्जन गरेका कारण त्यसको असर भोग्नुपरेको जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.