काठमाडौं :
निर्माणाधीन नेपाली फिल्म ’जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक गरिएको छ। सरस्वती पूजाको अवसर पारेर नयाँ गायक गायिकाको समेत खोजी गरिएको छ। फिल्मका मुख्य अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक राख्दै नव गायक गायिकाको खोजी थालेको हो। भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन्।
सम्वादमा सुनिन्छ निम्न अनुसार भनिएको छ।
‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?
गाउँ नछोडी त सपना पूरा नहुँदो रहेछ साथी !
अब तँ कहिले फर्किन्छस् ?
खै ! थाहा छैन । ए सुन त ! हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सकिन । कहिले काहीँ आमा भा’ठाउँमा जाइदे है ।
ल ल.. । तैँले त हामीलाई बिर्सिन्छस् होला नि साथी ?
अनि नि साथी मेरो आमालाई भन्दे । मेरो सपना पूरा नहुन्जेल बुढी नहुनु भन ल ?’
यसपछि गीत सुरु हुन्छ,‘हे आमा म, कमाएर गाउँ नफर्किँदासम्म, तिमी बुढी नहुनु है ।’
यस भिडियोको पृष्ठभूमिमा अभिनेता विजय बराल र एसोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर सुन्न सकिन्छ। यो थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर दिने घोषणा गरेका हुन्। यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने भएका हुन्। । गीतलाई फिल्ममा नै निर्माण टिमले समावेश गरिने जानकारी दिएका छन्। यो गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलले सङ्गीत दिनेछन्।
पेपरक्लिप प्रालिले बनाउन लागेको यस फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। भानुभक्त ढकालले लेखेको कथा, पटकथा र संवादमा विजय बरालले मुख्य भुमिकामा अभिनय गर्दैछन्। निर्माण पक्षका अनुसार यो फिल्ममा गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनमा केन्द्रित हुनेछ।
फिल्ममा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठले लगानी गर्दैछन भने फिल्मलाई नवीन गुरुङले खिच्ने पक्का भएको छ। क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउनेछ।