काठमाडौं :
नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ। आम दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ (मौखिक प्रचार) पाएको यस चलचित्रले पहिलो हप्ता सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
चलचित्रले निम्नमध्यम वर्गीय नेपालीहरूले दैनिक जीवनमा भोग्ने आर्थिक संघर्ष र पारिवारिक सम्बन्धहरूलाई कथावस्तु बनाएको छ। बाबुआमालाई आर्थिक अभावबाट मुक्त गर्न एक छोराले गरेको संघर्षलाई प्रस्तुत गरिएको यस फिल्मले धेरै दर्शकलाई भावुक बनाएको छ। सामाजिक सञ्जालमा दर्शकहरू चलचित्र हेरेर रोइरहेका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन्।
निर्देशक हिमाल न्यौपानेका अनुसार, “दर्शकको राम्रो प्रतिक्रिया पाएका छौं। वर्ड अफ माउथ राम्रो भएकाले दोस्रो हप्तामा पनि चलचित्र राम्रोसँग चल्ने विश्वास छ।”
‘जनै हराएको मान्छे’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत यसमा असोसिएट निर्देशकको भूमिकामा छन्। पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माताहरूमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले दिएका छन्। डीओपी नवीन गुरुङ र सिनेमाटोग्राफर कृष्ण परियार हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्।
चलचित्रका मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन् भने सहायक निर्देशकमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गरेको हो।