काठमाडौं :
असार २७ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ। यस अवसरमा निर्माण टिमले बालाजुस्थित अष्टनारायण हलमा केक काटेर विशेष समारोहका साथ ५१ औँ दिन मनाएको हो।
कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले चलचित्रले कुनै विशेष प्रचार वा टिकट काटेर दर्शक ल्याउने रणनीति नअपनाएको बताएका छन्। उनले भने, “जति दर्शक आउनुभयो, स्वतः टिकट काटेर आउनुभयो। फिल्मको खासै चर्चा भएन होला तर ५१ दिन पार गरेकोमा हामी खुसी छौं।”
समारोहमा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रविन्द्र खड्का लगायत फिल्मकर्मीहरूको उपस्थिति थियो। टिमले सहभागी अतिथि तथा सञ्चारकर्मीहरूलाई मायाको चिनोसमेत प्रदान गरेको थियो।
चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ। ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्मित चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन्। मित्र प्रधानको कथा तथा निर्देशनमा बनेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।
यसैबीच, ‘यो मन त मेरो नेपाली हो’ यतिबेला अमेरिकाका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ। यस्तै, सोही टिमले नयाँ चलचित्र ‘स्वाह:’ को पनि घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै गरिएको घोषणाअनुसार चलचित्र ‘स्वाह:’ लाई मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन्। शिवम अधिकारीको पटकथा तथा संवाद रहने फिल्ममा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् भने अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
हिमाली भेगको कथामा आधारित रहने भनिएको ‘स्वाह:’ करिब ४ करोडको लगानीमा निर्माण हुने बताइएको छ।