सुरेश रानाभाट/परिचय
अन्नपूर्ण हिमशृङ्खलाको ऐना बनेर बसेको फेवातालको किनारमा हिजोआज केवल पर्यटकको चहलपहल र सुसेली मात्र छैन, त्यहाँ ज्ञानको एउटा नयाँ र ओजपूर्ण तरङ्ग पनि उठेको छ । पोखरालाई हामी प्रायः प्रकृतिको बरदान र पर्यटनको राजधानीका रूपमा चिन्छौँ, तर चैत १२ देखि १४ गतेसम्म पोखराको लेकसाइडले आफ्नो परिचयमा एउटा विशिष्ट प्राज्ञिक विशेषण थपेको छ अन्तर्राष्ट्रिय प्राज्ञिक विमर्शको केन्द्र ।
मुलुककै उत्कृष्ट सामुदायिक क्याम्पसको छवि बनाएको जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलन २०२६ केवल एउटा औपचारिक भेला मात्र होइन; यो त शिथिल बन्दै गएको नेपालको उच्च शिक्षा प्रणालीमा नविन प्राण भर्ने एउटा बौद्धिक महाकुम्भ हो । नेपालमा उच्च शिक्षाको रूपान्तरण: विश्वव्यापी प्रतिस्पर्धाका मार्गहरू भन्ने मूल नाराका साथ सुरु भएको यो सम्मेलनले नेपालको उच्च शिक्षालाई प्रमाणपत्र वितरण गर्ने थलोबाट ज्ञान उत्पादन गर्ने कारखानामा बदल्ने सङ्कल्प गरेको छ ।
अनुसन्धान: गुणस्तरको कसी र अनिवार्य सर्त
सम्मेलनको समुद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले नेपाली उच्च शिक्षाको एउटा दुखद यथार्थ र सुधारको बाटोलाई प्रस्ट पारे । उनले भने, “अनुसन्धान विनाको उच्च शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । अनुसन्धान केवल कागजी घोडा होइन, यो त शिक्षाको गुणस्तर निर्धारण गर्ने मुख्य कसी हो ।”
प्राडा अधिकारीको यो भनाइले नेपाली प्राज्ञिक क्षेत्रलाई एउटा ठूलो ऐना देखाइदिएको छ । जबसम्म हाम्रा विश्वविद्यालयहरूले नयाँ ज्ञानको खोजी गर्दैनन्, तबसम्म हाम्रा विद्यार्थीहरू विश्वव्यापी बजारमा दोस्रो दर्जाको जनशक्तिमै सीमित हुने जोखिम रहन्छ । विश्वविद्यालय अनुदान आयोगले जनप्रिय क्याम्पस जस्ता अग्रणी संस्थाहरूलाई अनुसन्धानमा लगानी बढाउन प्रोत्साहन गरिरहेको सन्देश पनि उनले दिए, जसले सामुदायिक क्याम्पसहरूमा नयाँ उत्साह भरेको छ ।

विश्वविद्यालयको भविष्य र नेतृत्वको दृष्टिकोण
सम्मेलनका कि नोट स्पिकरका रूपमा रहेका त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका पूर्व उपकुलपतिद्वय प्राडा केशरजंग बराल र प्राडा तीर्थराज खनियाँले उच्च शिक्षाको अप्रेसन नै गरे । प्राडा बरालले शिक्षामा हुने राजनीतिक हस्तक्षेपलाई सबैभन्दा ठूलो अवरोधका रूपमा चित्रण गरे । उनले वित्तीय व्यवस्थापनको एउटा व्यावहारिक मोडल अघि सार्दै भने, “सक्नेले शिक्षाको लागत तिर्नुपर्छ, नसक्नेका लागि राज्यले एउटा प्रणालीमार्फत छात्रवृत्तिको सुनिश्चितता गर्नुपर्छ ।” उनको तर्क थियो कि सामाजिक न्यायको अर्थ सबैलाई निःशुल्क गर्नु मात्र होइन, बरु लक्षित वर्गलाई पहिचान गरी उनीहरूको पहुँच सुनिश्चित गर्नु हो ।

अर्का पूर्व उपकुलपति प्राडा खनियाँले विश्वविद्यालयहरूको सामर्थ्यलाई निकै दार्शनिक ढङ्गले व्याख्या गरे । उनले भने, “कुनै पनि विश्वविद्यालयको भविष्य त्यसको भौतिक आकार वा विद्यार्थीको सङ्ख्याले होइन, बरु त्यसको दृष्टिकोण, नेतृत्व र अनुसन्धानको गहिराइले निर्धारण गर्छ ।” उनले हाम्रा शैक्षिक संस्थाहरूलाई केवल पढाउने थलो मात्र होइन, बरु उत्कृष्टताको केन्द्रमा रूपान्तरण गर्न सरकार र प्राज्ञिक वर्गलाई आह्वान गरे ।
जनप्रियको नेतृत्व: सामुदायिक क्याम्पसको ‘ब्रान्डिङ’
यो सम्मेलन आयोजना गरेर जनप्रिय बहुमुखी क्याम्पसले आफूलाई केवल एक शैक्षिक संस्था मात्र होइन, बरु प्राज्ञिक नेतृत्वकर्ताका रूपमा उभ्याएको छ । वि.सं. २०७२ र २०७३ मा देशकै उत्कृष्ट सामुदायिक क्याम्पसको पुरस्कार पाइसकेको र विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक क्युएए प्रमाणपत्र प्राप्त गरिसकेको यस क्याम्पसले अहिले तेस्रो चक्रको गुणस्तर सुनिश्चितताका लागि जुन तयारी गरिरहेको छ, यो सम्मेलन त्यसैको एउटा सशक्त कडी हो ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले सम्मेलनको औचित्यमाथि प्रकाश पार्दै भने, “हामीले अब परम्परागत शिक्षण सिकाइलाई त्यागेर प्रविधिमैत्री र बजारसापेक्ष शिक्षामा जोड दिनुपर्छ । यो सम्मेलनले निकालेको निचोड नीति निर्माणको तहसम्म पुर्याउने हाम्रो लक्ष्य छ ।” बरालको यो भनाइले के पुष्टि गर्छ भने जनप्रियले अबको शैक्षिक यात्रामा अनुसन्धानलाई नै मेरुदण्ड बनाउने अठोट गरेको छ । ३८ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानपत्रहरूमाथि हुने घनीभूत छलफलले नेपालको उच्च शिक्षामा विद्यमान नीतिगत उल्झन र डिजिटल रूपान्तरणका चुनौतीहरूलाई चिरफार गर्ने अपेक्षा गरिएको छ ।

गण्डकीको प्राज्ञिक गौरव र भविष्यको कार्यदिशा
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले पोखराको पर्यटकीय पहिचानसँगै अब प्राज्ञिक पर्यटनको नयाँ अध्याय सुरु भएको महसुस गराए । उनले सम्मेलनले नेपालको उच्च शिक्षालाई वैश्विक प्रतिस्पर्धामा लैजान मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारबाट प्रदेशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा सम्मानित जनप्रियले यो सम्मेलनमार्फत काठमाडौँ केन्द्रित प्राज्ञिक बहसलाई पोखराको आँगनमा ल्याइदिएको छ ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रदेखि समापनसम्मका विविध सत्रहरूमा प्राडा सरोज कोइराला, प्राडा कृष्णराज अधिकारी, प्राडा लेखनाथ भट्टराई, प्राडा नवराज देवकोटा, प्राडा भरतराज पहारी र प्राडा रमेशराज कुँवर जस्ता हस्तीहरूको उपस्थिति र कार्यपत्र प्रस्तुतिले यो सम्मेलनलाई साँच्चिकै बौद्धिक महाकुम्भ बनाएको छ ।
सम्मेलनदेखि रूपान्तरणसम्म
नेपालका युवाहरू हातमा डिग्रीको प्रमाणपत्र लिएर त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा र विश्वविद्यालयहरूमा विद्यार्थीको सङ्ख्या घट्दै गर्दा जनप्रिय बहुमुखी क्याम्पसले बालेको यो ज्ञानको दियो निकै अर्थपूर्ण छ । यो सम्मेलन केवल तीन दिनका लागि होइन, बरु यसले भविष्यका लागि कोर्न खोजेको मार्गचित्र महत्त्वपूर्ण छ ।

अनुसन्धानलाई विश्वविद्यालयको कोठाभित्र मात्र सीमित नराखेर उद्योग, पर्यटन र राष्ट्रिय विकाससँग जोड्ने पुलका रूपमा यस सम्मेलनलाई लिन सकिन्छ । जब शैक्षिक संस्थाले पर्यटन विज्ञ मणिराज लामिछाने र व्यवसायी गणेशबहादुर भट्टराई जस्ता व्यक्तित्वहरूसँग बसेर प्यानल डिस्कसन गर्छ, तब शिक्षाले व्यावहारिकताको धरातल भेट्छ ।
पोखराको यो अन्तर्राष्ट्रिय सम्मेलनले एउटा स्पष्ट सन्देश दिएको छ, “नेपालको उच्च शिक्षालाई बचाउने हो भने अबको बाटो अनुसन्धान, प्रविधि र वैश्विक प्रतिस्पर्धा नै हो ।” जनप्रियले चालेको यो ऐतिहासिक पाइलाले नेपालको उच्च शिक्षा नीतिलाई नयाँ दिशा दिनेछ र पोखरालाई एउटा गौरवशाली प्राज्ञिक हबका रूपमा विश्वमाझ चिनाउनेछ ।
