काठमाडौँ,
भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् ।
चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लगाउँदा कम्तीमा दुई हजार ५ सय पर्यटक काठमाण्डौमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् ।
यसअघि तीन दिनमा हुने भिसा प्रक्रिया अहिले १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाण्डौका विभिन्न पाँचतारे होटलमा झन्डै तीन हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ ।
ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’ कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए।
उनका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया अहिले १० दिनसम्म लाग्ने गरेकाले दुई हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् ।
भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला रसुवामा बाढीले सडक अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् ।
धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । धेरैजसो भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् ।
कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाण्डौ–हुम्लाको सिमीकोट र काठमाण्डौबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् ।
काठमाण्डौबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जान सकिन्छ ।
