सुचना, समाचार र मनोरन्जन

हरिहर खनालको साहित्यिक बिम्ब उधिन्ने ‘कालिगड’: सम्पादक तेजविलास अधिकारी

सुरेश रानाभाट/परिचय पोखरा,
साहित्य सिर्जना गर्नु एउटा तपस्या हो भने सिर्जित साहित्यलाई समालोचनाको कसीमा घोटेर त्यसको असली रङ उधिन्नु अर्को विशिष्ट साधना हो । स्रष्टाले लेख्छन्, तर त्यसलाई युगसापेक्ष व्याख्या गरेर पाठक र इतिहासका माझमा सुरक्षित राख्ने काम सम्पादक र समालोचकले गर्छन् । यस्तै एउटा विशिष्ट साधनाको फल स्वरूप मङ्गलबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको हलमा एउटा गहकिलो कृति विमोचन भयो ‘समालोचकका आँखामा हरिहर खनाल’ ।

वरिष्ठ साहित्यकार हरिहर खनालको व्यक्तित्व र कृतित्वलाई केन्द्रमा राखेर तयार पारिएको यो ग्रन्थको दोस्रो संस्करण सार्वजनिक हुँदै गर्दा मञ्चमा विशिष्ट अतिथिहरूको लाम थियो । तर, त्यो लाम र कृतिको आवरणभित्र लुकेको एउटा नाम, जसले यो ऐतिहासिक दस्तावेजलाई मूर्त रूप दिन रगतपसिना बगायो, ती हुन् तेजविलास अधिकारी ।

नेपाली साहित्यमा सम्पादन कलालाई प्रायः ‘सङ्कलन’ का रूपमा मात्र बुझ्ने परिपाटी छ । विभिन्न लेख जम्मा पारेर पुस्तकको आकार दिनेलाई नै सम्पादक मानिने भ्रमलाई चिर्दै तेजविलास अधिकारीले प्रा. राजेन्द्र सुवेदीसँगको सहकार्यमा यस कृतिमा आफ्नो सम्पादकीय कौशल पस्केका छन् ।

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले भनेको एउटा वाक्य निकै मननयोग्य थियो, ‘नेपालमा सङ्कलक भए पनि सम्पादक छैनन् । डा. ज्ञवालीको यो कटाक्षपूर्ण भनाइले घुमाउरो पारामा तेजविलास अधिकारी र प्रा। सुवेदीको मेहनतलाई न्याय गरेको भान हुन्थ्यो । किनकि, हरिहर खनालजस्ता बहुआयामिक स्रष्टाका दशकौँ पुराना लेखरचनादेखि समकालीन समालोचनासम्मलाई एउटै मालामा उन्नु चानचुने सङ्कलन मात्र होइन, यो एक बौद्धिक संयोजन हो । तेजविलासले केवल रचना थुपारेनन्, तिनलाई ऐतिहासिक कालक्रम र विषयवस्तुको गहिराइमा गएर ‘सम्पादन’ गरे ।

कुनै पनि स्रष्टाका लागि समालोचना ‘ऐना’ सरह हुन्छ । त्यही ऐना निर्माण गर्ने जोखिमपूर्ण काममा तेजविलास अधिकारीले आफूलाई खरायो उत्राएका छन् । कुलपति नारदमणि हार्तम्छाली, पूर्वकुलपति के।के। कर्माचार्य, वरिष्ठ साहित्यकारहरू डा। तुलसी भट्टराई, प्रा।डा। खगेन्द्रप्रसाद लुइँटेल र दयाराम श्रेष्ठजस्ता विद्वानहरूको उपस्थितिमा विमोचित यो कृतिले खनालको साहित्यिक उचाइलाई मात्र मापन गरेको छैन, सम्पादक अधिकारीको ‘जहुरी’ (रत्न पारखी) नजरलाई पनि पुष्टि गरेको छ ।

लेखक हरिहर खनाल स्वयं उपस्थित रहेको उक्त कार्यक्रममा उनका सबल पक्ष र कमीकमजोरी दुवैलाई उजागर गर्ने लेखहरू समावेश गर्नु सम्पादकको तटस्थ धर्म हो । तेजविलासले ‘आलेख साहित्यिक मासिक’ मार्फत प्रकाशनमा ल्याएको यो कृतिमा खनालका धेरै पहिलेदेखि अहिलेसम्मका रचनाहरूलाई जसरी सिलसिलाबद्ध रूपमा प्रस्तुत गरेका छन्, त्यसले पाठकलाई एउटा स्रष्टाको विकासक्रम बुझ्न सहज बनाइदिएको छ ।

साहित्यिक कार्यक्रमहरूमा प्रायः माला र खादा स्रष्टाले पाउँछन्, ताली वक्ताले पाउँछन् । तर, पुस्तकको पानापानामा शब्दहरूको व्यवस्थापन गर्ने, अशुद्धि केलाउने र विचारहरूको संयोजन गर्ने सम्पादक अक्सर नेपथ्यमा हुन्छन् । २३ मङ्सिर २०८२ को त्यो चिसो मङ्गलबार, अच्युत घिमिरेको सभापतित्वमा सम्पन्न भव्य समारोहबिच तेजविलास अधिकारीको त्यो ‘नेपथ्यको नायकत्व’ देखिने गरी प्रकट भएको थियो ।

‘समालोचकका आँखामा हरिहर खनाल’ केवल एउटा पुस्तक मात्र होइन, यो तेजविलास अधिकारीले नेपाली साहित्यको इतिहासमा थपेको एउटा बलियो इँटा हो । जसले भविष्यका अन्वेषकहरूलाई हरिहर खनाललाई बुझ्न, पढ्न र विश्लेषण गर्न एउटा स्पष्ट ‘मार्गचित्र’ को काम गर्नेछ । सङ्कलकहरूको भिडमा आफूलाई ‘सम्पादक’ का रूपमा उभ्याउन तेजविलासले गरेको यो सत्प्रयास साँच्चिकै स्तुत्य छ । सम्पादक तेजविलास अधिकारीको आलोचनात्मक चेत अझे धारिलो बन्दै जाओस् सतत् शुभकामना ।

Leave A Reply

Your email address will not be published.