काठमाडौं :
गायक सुशान्त केसीले फिल्म ‘कर्मा’बाट पाश्र्व गायनमा डेब्यु गर्दैछन्। प्रदर्शनमा आउन दुईहप्ता बाँकी छँदा निर्माण टिमले उनको आवाजमा ‘पागल पागल जस्तै’ बोलको गीत रेकर्ड गराएका छन्। फिल्म यहीँ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
यस गीतमा उनी स्वयंको शब्द रचना तथा संगीत छ। निर्माण टिमले गीत रेकर्ड गराएर भिडियो समेत खिचिसकेका छन्। फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्देशक सौरभ चौधरीले यो गीत शनिबार रिलिज गरिने छन्। गायक सुशान्तको पछिल्लो समय ‘झ्यालबाट’, ‘रिसाउने भए’ जस्ता गीत चर्चामा रहेको छ।
निर्देशक चौधरी स्वयंको लेखन रहेको ‘कर्मा’मा विपिन र उपासनासहित मुकुन भुसाल, सरिता गिरी, बेन बस्नेत, दिव्य देव पन्त, सुज्यान सिलवाल, अनिल बुढाथोकी लगायतको अभिनय रहेको छ। वसन्त लम्सालको लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व तथा निमेष श्रेष्ठको सम्पादन छ।