काठमाडौं :
नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार, उनीहरूले वीटकद्वारा निर्माण गरिने म्युजिक भिडियोमा अभिनय गर्नेछन्।
सारांश मिडिया ल्याब्स अन्तर्गत संचालनमा रहेको वीटकका प्रमुख सञ्चालक क्षितिज दाहालका अनुसार, एपमार्फत क्रिएटरहरूको सिर्जनालाई अनलाइन तथा भौतिक माध्यमबाट प्रस्तुत गरिनेछ। भुक्तानीको तत्काल व्यवस्थाले सिर्जनात्मक कामलाई प्रोत्साहन गरिने उनले बताए।
वीटकले सञ्चालन गर्ने हिपहप डान्स प्रतियोगितामा भारतमा कार्यरत डान्सर करण सोनार (करण डान्स स्टुडियो) पनि संलग्न हुनेछन्। प्रयोगकर्ताले आफ्नो डान्स भिडिओ वीटकमा अपलोड गरेपछि नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडिओ छनोट गर्नेछन्। विजेतालाई पुरस्कारसहित विशेष भिडियोमा अवसर दिइनेछ।
नेपालमा दर्ता भएका सामाजिक सञ्जालमध्ये वीटक एक
नेपाल सरकारले ‘सामाजिक सञ्जाल सञ्जालन तथा नियमन सम्बन्धी निर्देशिका, २०८०’ लागू गरेपछि दर्ता नभएका २६ सञ्जालमा प्रतिबन्ध लगाएको थियो। हाल नेपालमा दर्ता भई सूचीकृत भएका पाँच सञ्जालमध्ये वीटक, टिकटक, भाइबर, निम्बज र ओपोलाइभ रहेका छन्।
वीटक नेपाली युवा क्षितिज दाहालले स्थापना गरेका हुन्। सरकारी सेवामा सात वर्ष काम गरिसकेका दाहालले भिडिओ सेयरिङ एप र डिजिटल मार्केटप्लेसको संयोजनमार्फत यो एप तयार गरेका हुन्। एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ।
उनका अनुसार, वीटकमार्फत प्रयोगकर्ताले ‘मनिटाइजेशन’, डान्स च्यालेन्ज, गिफ्ट ह्याम्पर, क्यास गिभअवे, र लोकप्रियता पाउने अवसर प्राप्त गर्न सक्छन्।
दशैंपछि एक प्रयोगकर्तालाई मासिक ५० हजार रुपैयाँ पुरस्कार दिने योजना पनि सार्वजनिक गरिएको छ। वीटकमा हाल नेपाल, भारत र अमेरिका गरी २५ जनाको टिम कार्यरत रहेको कम्पनीले जनाएको छ।
कानुनी मान्यता र भविष्य योजना
वीटकले सरकारद्वारा तोकिएको मापदण्डअनुसार गुनासो सुनुवाइ अधिकारी र सम्पर्क व्यक्ति तोकी आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको छ। कम्पनीले हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत गर्दै प्रतिस्पर्धा, प्रशिक्षण, र कार्यक्रममार्फत डिजिटल क्रिएटरलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।