काठमाडौं :
दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको टिजर रिलिज गरेको हो।
टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले स्पेश पाएका छन्। निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई फिल्मको कथामा समेटिएको पाउन सकिन्छ। आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ। काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ। पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ।
पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ। टिजरमार्फत सिनेमाले गम्भीर कथा भन्ने प्रष्ट पारेको छ।जेठ २ लाई रिलिज मिति तोकिएको यो फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन्। उनको यो पहिलो फिल्म हो। कृष्णबहादुर थापाको छायांकन रहेको यो फिल्मका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।