काठमाडौँ,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
निकासी पैठारी ९नियन्त्रण० ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो ।
कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।
कानुनविपरीतका कार्य भए÷गरेको पाइएमा पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम काराबाही हुने विभागले स्पष्ट पारेको छ ।
यस्तै, विभागले बजारमा स्वच्छता कायम राख्नका लागि अनुगमन तथा निरीक्षणलाई तीव्र पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजारमा आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।
सोमबार काठमाडौँका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो । ती फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मी र स्थानीय सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।