सुचना, समाचार र मनोरन्जन

‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको मन जित्यो

काठमाडौं :

आगामी भदौँ १२ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म ‘‘कोशेढुंगा’को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’को चर्चा चुलिन थालेको छ। यो गीत सार्वजनिक भएपछि दर्शकमाझ लोकप्रिय बन्ने दाउमा रहेको छ।

डान्सिङ शैलीमा प्रस्तुत गरिएको यो गीतमा ठूलो संख्यामा टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन्। निर्देशक सरोज पौडेलका अनुसार हालसम्म २० हजारभन्दा बढी टिकटक भिडियोहरू बनिसकेका छन्।

गीतलाई युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्। निर्देशक पौडेल भन्छन्,‘नेपाली संस्कृतिलाई जोगाउँदै सभ्य र भव्य गीत दर्शकमाझ ल्याएका थियौं। दर्शकको प्रतिक्रिया हाम्रो अपेक्षाअनुसारकै छ। दैनिक हजारौँले यो गीतमा भिडियो बनाइरहनुभएको छ।’

गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने हुकलाइन र संगीत खेम सेन्चुरीको हो। स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले दिएका छन्। तीजको परिवेशमा रहेको यो गीतले विवाहित र अविवाहित महिलाबीचको सामाजिक भावनात्मक अन्तरलाई प्रस्तुत गरेको छ। गीतमा विवाहित अवस्थाको प्रेम र जिम्मेवारीलाई ऋचा शर्माले प्रस्तुत गरेकी छन् भने अविवाहितको कल्पना र उत्सुकतालाई सुरक्षा पन्त र नीति शाहले अभिनयमार्फत चित्रण गरेका छन्।

टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्नेछ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन्।

नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठले, सम्पादन नहकुल खड्काले गरेका छन्। संगीत आशिष अविरल र रिदम कँडेलको रहेको छ भने कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन्।

‘कोशेढुंगा’ नेपालसहित ४२ देशमा एकसाथ प्रदर्शन गरिने तयारीमा छ। अन्तर्राष्ट्रिय वितरणको जिम्मा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ। यसरी एकैपटक यति धेरै देशमा नेपाली फिल्म प्रदर्शन हुन लागेको इतिहासमा पहिलोपटक भएको हो। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइ पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.