काठमाडौं :
आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा पत्रकार भेटघाट कार्यक्रममार्फत गीतको भिडियो रिलिज गरिएको हो।
सार्वजनिक गरिएको यस गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्। सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्।
शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले अभिनय गरेका छन्। जहाँ उनीहरुलाई नेपालको पुराना कलाशैली तथा पोशाकमा पनि नचाइएको देख्न सकिन्छ। गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।
दिनेश राउत निर्देशित यस फिल्मलाई दर्शकले रुचाउने निमाृण पक्षको दाबी छ। यसअघि उनले फिल्म ‘आई एम सरी,नोभेम्बर रेन,क्लासिक,प्रसादु,पुजार सार्की, प्रकाशका अवला महाभोज निर्देशन गरिसकेका छन्। यतिका फिल्ममा काम गरिसकेपछि आफूलाई केहि साथीहरुले प्रेमकथामा फिल्म निर्माण गर्न आग्रह गरेपछि पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको निर्देशक राउतले बताए। यस्तै, लेखक विकास सुवेदीले यो गीतले फिल्मको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।
कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले यस फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए। राजभण्डारीले चलचित्रको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो फिल्म रोजेको बताइन्। यस्तै, खड्काले फिल्मप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप यस फिल्ममा अभिनय गरेको बताए। कार्यकारी निर्माता केदार भुसालले भ्यालेन्टाइन डेको छेको पारेर रिलिज हुन लागेको यस फिल्मले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।
फिल्ममा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।
डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस फिल्मको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ। यसअघि यो फिल्ममा समावेश गीत ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ रिलिज भइसकेका छन्। यो गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।