सुचना, समाचार र मनोरन्जन

पोखरामा लागुऔषध ओसारपोसार विरुद्धको सप्ताहाव्यापी कार्यक्रम सम्पन्न

पोखरा,

“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता” नाराका साथ आयोजित लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर मन्त्रालयीय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको समापन समारोह पोखरामा सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीको प्राङ्गणमा असार ६ गतेदेखि सुरु भएको अभियानको समापन समारोह प्रभातफेरी सहित सम्पन्न भएको हो। प्रभातफेरी मुस्ताङचोकबाट सुरु भई राष्ट्रबैंक चोक, सभागृहचोक हुँदै जिल्ला प्रशासन कार्यालय सम्म गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेका थिए भने गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय लागुऔषध ओसारपोसार र प्रयोगकर्ता बढेको बताउँदै समुदायमा यस्ता खालका सचेतामुलक कार्यक्रमले सन्देशमुलक भुमिका खेल्ने धारणा राखेका थिए ।

प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेल, प्रदेश सचिवहरू, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, अनुसन्धान निर्देशनालयका प्रतिनिधि, सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी कार्यालय प्रमुखहरू, वडा अध्यक्षहरू, पत्रकार महासंघका प्रतिनिधि, सामाजिक संस्था तथा शैक्षिक संस्थाका प्रमुख, आमा समूह, टोल विकास संस्था, बाल अधिकारका कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो, प्रशंसा पत्र वितरण, प्रतिबद्धता पत्रमा हस्ताक्षर, प्रमुख अतिथिको सम्बोधन तथा सम्मान कार्यक्रम पनि समावेश गरिएको थियो। प्रमुख अतिथि पाण्डेले समाजमा लागुऔषधको बढ्दो प्रयोगले ल्याउने संकटबारे सचेत गराउँदै सबै तहको सहकार्य आवश्यक रहेको बताए।

अन्ततः प्रमुख जिल्ला अधिकारीको समापन सम्बोधन र प्रतिबद्धता हस्ताक्षरसँगै कार्यक्रम सम्पन्न भयो। कार्यक्रमले सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.