पोखरा : हाम्रो धार्मिक अर्थात् हिन्द्र शास्त्रहरूमा लक्ष्मीलाई चञ्चल स्वभावकी देवीका रूपमा वर्णन भेटिन्छ।
जो स्थायीरूपमा एकै स्थानमा स्वभावैले सम्भव हुँदैन। लक्ष्मी अर्थात धन निरन्तर गतिशील रहन्छ। यो यसको विशेषता हो। यो विशेषतालाई बुझ्ने व्यक्तिले विशेषत ठूलो शिक्षा प्राप्त गर्न सक्छन्।
एकल लगानीबाट दीर्घकालीन र स्थिर धन आर्जन सम्भव हुने कुरा होइन। तर एकल लगानीको यसको सट्टा विभिन्न क्षेत्र वा परियोजनामा साना- ठूला लगानीको विविधीकरणमार्फत जोखिम न्यूनीकरण गर्न सकिन्छ। र दीगो प्रतिफल प्राप्त गर्न सकिन्छ। यसले न केवल आर्थिक स्थायित्व प्रदान गर्छ, तर लक्ष्मीको चञ्चलताको सारलाई पनि व्यवहारिक रूपले आत्मसात गरेको हुन्छ।
धनलाई धेरैजसोले केवल भौतिक वस्तु वा साधनको रूपमा बुझ्ने गरेको हामी भेट्टाउने गरेका छौँ। वास्तवमा धन एक शक्ति हो। एक प्रकारको ऊर्जा हो। जसको सकारात्मक वा नकारात्मक उपस्थिति हाम्रो जीवनका सबै पक्षमा गहिरो प्रभाव पार्ने गर्छ।
पर्याप्त धन हुँदा आत्मबल, सोच, र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। धनको अभावले मानसिक, सामाजिक र शारीरिक सन्तुलनमा पनि अवरोध आउन सक्छ। धन भौतिक साधनको रूपमा होइन, एक आध्यात्मिक शक्ति र चेतनाका रूपमा बुझ्नु अत्यन्त आवश्यक देखिन्छ।
धनको गतिशिल विशेषतालेसन्तुलन र विविधीकरणको महत्व बुझाउँछ। एकै प्रकारको आम्दानी स्रोतमा भर नपरी, विभिन्न मार्गबाट धन आर्जन गर्ने सोचले दीर्घकालीन स्थिरता र समृद्धिको ढोका खोल्ने गर्छ।
धनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न आजको दिनमा जरूरी छ। आर्थिक सुदृढता हुँदा मानिसको सामाजिक व्यवहार, मानसिक स्वास्थ्य, र जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ भने विपरीत अवस्थामा अव्यवस्थित खर्च र आयको अभावले मानिसलाई असन्तुलन र मानसिक तनावतर्फ धकेल्ने स्वभाविक देखिन्छ।
हामी हरेकभित्र अद्वितीय क्षमता, शक्ति र सीप लुकेका हुन्छन्। ती क्षमताको सदुपयोग समयमै नगर्दा जीवनमा पछुतो मात्र बाँकी रहने अनुभव धेरैको छ।
अवसर हेर्ने तर निर्णय नगर्नेू प्रवृत्तिका कारण थुप्रै व्यक्तिहरूले जीवनका महत्वपूर्ण मोडमा आफ्ना सम्भावनाहरू गुमाएका उदाहरणहरू धेरै छन्।
कुनै पनि काममा ढिलो सुरू गर्दा वा इच्छाशक्ति बलियो नभएपछि जीवन सन्तुलन गुमाउने खतरा बढ्छ। त्यसैले, आफ्नो ऊर्जालाई समयमै परिचालित गर्न जान्नु नै सफलता र समृद्धिको मूल सूत्र हो।
स-साना खर्च गर्ने बानी, सुरुमा सामान्य देखिए पनि दीर्घकालीन रूपमा हेर्दा, ती सानो प्वालझैं हुन्छन्—जसबाट पानी पसेर भवसागरको डुङ्गा डुब्न सक्छ।
अनावश्यक खर्च गर्ने बानीले आर्थिक जीवनमा विनाश ल्याउने प्रवल सम्भावना छ। तर जब यस्ता बानीहरूमाथि आत्मचेतना जागृत हुन्छ, तब मानिस सुधारको मार्गमा अघि बढ्न सक्छ।
धनको सदुपयोग, योजनाबद्ध लगानी र आत्मनियन्त्रणका माध्यमबाट मात्र जीवनलाई आर्थिक, सामाजिक र आध्यात्मिक रूपमा सफल बनाउन सकिन्छ।
धन स्थायित्व होइन, प्रवाह हो। यस प्रवाहलाई स्वीकार्दै, लगानीमा विविधता ल्याउने, धनलाई ऊर्जा र आध्यात्मिक शक्तिको रूपमा सम्मान गर्न जरूरी छ।
आजको युगमा धनप्रतिको यो आध्यात्मिक चेतना अझ बढी सान्दर्भिक, आवश्यक र प्रेरणादायी देखिन्छ।