सुचना, समाचार र मनोरन्जन

यौनकर्मीको भूमिकामा रोश्नी कार्की, ‘लालिमा’बाट चुनौतीपूर्ण प्रस्तुति

काठमाडौं :

फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म लालिमा मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा देखिएकी छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को जटिल र संवेदनशील चरित्र निर्वाह गरेकी हुन् ।

थिएटर पृष्ठभूमिबाट चलचित्रमा सक्रिय बनेकी रोश्नीका लागि यो भूमिका करिअरकै चुनौतीपूर्ण मानिएको छ । पहिलो पटक यौनकर्मीको भूमिकामा देखिएकी उनले पात्रलाई जीवन्त बनाउन वास्तविक जीवनका यौनकर्मीसँग भेटघाट र लामो संवाद गरेको खुलाएकी छन् ।

रोश्नीका अनुसार यौनकर्मीहरु प्रायः आफ्नो पहिचान गोप्य राख्न चाहन्छन्, जसका कारण अनुसन्धान सहज थिएन । “यौनकर्मी मैले चिनेको कोही थिएन । आफूलाई यौनकर्मी भनेर चिनाउने को नै हुन्छ र ? उहाँहरुको पेसा नै खुल्दैन,” उनले भनिन्, “तर पात्र निर्माणका लागि उहाँहरुसँग प्रत्यक्ष भेट आवश्यक थियो ।”

फिल्म मुख्यतः यौनकर्मीको मानसिक अवस्था, सामाजिक दबाब र आर्थिक बाध्यतामाथि केन्द्रित भएकाले उनले नेपाली परिवेश बुझ्न वास्तविक अनुभवलाई आधार बनाएकी हुन् । निर्माण टिमको समन्वयमा करिब १० जना यौनकर्मीसँग भेटघाट र संवाद गरेपछि आफूलाई पात्र निर्माणमा ठोस आधार मिलेको उनले बताइन् ।

“उहाँहरुले आफ्नो समस्या, पीडा र मनोदशा खुलस्त सुनाउनुभयो। त्यो सुन्दा भावुक भएँ । पात्र निर्माणमा त्यसले ठूलो सहयोग गर्‍यो,” रोश्नीले भनिन् ।

उनका अनुसार भेटिएका यौनकर्मी कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका थिए। अधिकांश आर्थिक समस्याका कारण यो पेशामा प्रवेश गरेको पाइएको उनले बताइन्। “सबैजसो आर्थिक बाध्यताले आएका रहेछन्। कसैको पारिवारिक समस्या, कसैको ऋण, कसैको पढाइ खर्च,” उनले भनिन्।

ठूलो संख्यामा रहेर पनि समाजबाट ओझेलमा परेका यौनकर्मीको प्रतिनिधित्व गर्न पाएकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ। “कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु । उहाँहरूको मानसिकता र पीडालाई पर्दामा उतार्ने प्रयास गरेकी छु,” उनले भनिन्।

फिल्म ‘लालिमा’ले नेपाली समाजमा प्रायः छलफलबाट बाहिर रहने विषयलाई मुख्य कथावस्तु बनाएकाले यसको प्रस्तुतिले कस्तो बहस जन्माउनेछ भन्ने प्रतीक्षा दर्शकमाझ बढ्दो छ।

Leave A Reply

Your email address will not be published.