सन्तोष बस्याल
पोखरा ।
लेखनाथ महोत्सवको १९ औं संस्करण पुसको पहिलो सातादेखि हुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १९ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १९ औं संस्करण आगामी पुसको ५ गतेदेखि १६ गतेसम्म हुने लेखनाथमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास सम्बृद्धि भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा करिब ३ सय ३४ स्टल रहने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भइसकेको संघले बताएको छ ।
संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । महोत्सवमा बाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए । जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवम् वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव मार्फत मदत मिल्ने उनले उल्लेख गरे ।

कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिकमन्दिबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै, महोत्सवको अवसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा साहित्यीक कार्यक्रम, महिला विशेष तथा रितिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा महिला समुहहरुको आफ्नो झाँकी¥याली पशुपंक्षी पदर्शनी लगायतका कार्यक्रम गरिनेछ ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव प्रवेशमा जेष्ठ नागरिक बुवा, आमा, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
महोत्सव अवधिभर २ लाख ५० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा करिब ९० लाख बराबरका आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान गरिएको छ ।
महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रर्वद्धनका लागि उत्कृष्ट स्तरको कोशेली घर निर्माण, संघद्वारा बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजक संस्थाले जनाएको छ ।