सुचना, समाचार र मनोरन्जन
RU

एमसीसीबारे बोल्यो एमसीए नेपाल

काठमाडौँ,

अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई निरन्तरता दिने अमेरिकी दूतावासको विज्ञप्तिको दुई सातापछि मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले आधिकारिक रूपमा मुख खोलेको छ ।

बुधबार एमसीएले अमेरिकी वैदेशिक सहायतामा लगाइएको रोकमा पूर्व स्वीकृत विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन जारी राख्न अनुमति दिने अमेरिकी सरकारको निर्णयलाई स्वागत गरेको हो ।

एमसीए नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग निकटमा रहेर कम्प्याक्ट अन्तर्गतका गतिविधिहरू कार्यान्वयन गर्न काम गरिरहेको छ । यस अन्तर्गत २९७ किलोमिटर प्रसारण लाइन निर्माण कार्य र सडक मर्मत कार्यहरू लगायत अन्य बाँकी रहेका खरिद प्रक्रियाहरू सम्पन्न गर्ने कार्यहरू समावेश छन् ।

यसका साथै एमसीए–नेपालले वैदेशिक सहायता समीक्षा हुनुअघि नै निर्माणको चरणमा रहेका तीन वटा सबस्टेसन र १८ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइनको कामलाई पनि निरन्तरता दिइरहेको जनाएको छ ।

नेपालको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ पार्न यी उच्च–प्रभावकारी पूर्वाधार परियोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको र यस कम्प्याक्टमा एमसीसीको निरन्तर साझेदारीको प्रशंसा गर्ने एमसीएले उल्लेख गरेको छ ।

यसअघि असार ४ गते अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनालाई निरन्तरता दिने जनाएको थियो ।

Leave A Reply

Your email address will not be published.