सुचना, समाचार र मनोरन्जन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । आईसीटीले अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री हसिनालाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

गएको वर्षको अगस्टमा बङ्गलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नुपरेको थियो । त्यसपछि उहाँलाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो ।

यस्तै अदालतको अवहेलना मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले दुई महिनाको जेल सजाय सुनाएको खबरमा उल्लेख छ।

प्रमुख अभियोजक ताजुल इस्लामले यो सजाय शेख हसिनाले आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उहाँलाई पक्राउ गरेको दिनदेखि लागू हुने बताएका छन ।
सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियोमा हसिनाले शकील अकन्द बुलबुलसँग आफूविरुद्ध २ सय २७ वटा मुद्दा दायर गरेको र यसले आफूलाई २ सय २७ जनाको हत्या गर्ने लाइसेन्स प्राप्त भएको टिप्पणी गरेका थिए ।

गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो ।

Leave A Reply

Your email address will not be published.