पोखरा :
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा नरेन्द्र थापा ‘नरेन’ले उम्मेदवारी घोषणा गरेका छन्। हाल पोखरा महानगरपालिका–२६ का वडाध्यक्षसमेत रहेका महाधिवेशन प्रतिनिधि थापाले औपचारिक रूपमा क्षेत्रीय सभापतिको दौडमा आफूलाई उभ्याएका हुन्।
उम्मेदवारी घोषणा गर्दै थापाले जारी महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको आन्तरिक लोकतन्त्र, सङ्गठनको भविष्य र जनविश्वास सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

नेपाल तरुण दलका विभिन्न जिम्मेवारी सम्हाल्दै जिल्ला सचिवको भूमिकामा युवाहरूलाई काङ्ग्रेससँग जोड्न सक्रिय रहेका थापाले स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ-संस्थामा प्राप्त अनुभवलाई अब क्षेत्रीय सङ्गठन बलियो बनाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए। उनले निष्ठावान् कार्यकर्ताको उचित मूल्याङ्कन, युवाको सशक्त सहभागिता, अग्रजको सम्मान, सङ्गठनभित्र एकता र प्रत्येक कार्यकर्ताको आत्मसम्मानलाई आफ्नो मुख्य प्राथमिकता बताएका छन्।
“बोल्नेभन्दा काम गरेर देखाउने मेरो कार्यशैली हो। कास्की क्षेत्र नं. १ का प्रत्येक साथीको आत्मसम्मान र पार्टीको गरिमा उच्च राख्ने मेरो दृढ सङ्कल्प छ,” उनले भने। थापाले वडा तथा पालिका अधिवेशनबाट निर्वाचित नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई दिँदै पार्टीभित्रको प्रतिस्पर्धालाई आपसी सम्मान, सहकार्य र सङ्गठन निर्माणसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे।
कास्की–१ को क्षेत्रीय सभापतिमा अन्य आकांक्षीहरू पनि देखिएकाले नेतृत्व चयन प्रतिस्पर्धात्मक हुने सम्भावना छ। थापासँगै सरोज केसी र ओमप्रकाश गुरुङ पनि सभापतिको दौडमा रहेका छन्, जसमध्ये सरोज केसीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। “पदका लागि होइन सङ्गठनका लागि, र व्यक्तिगत प्रतिष्ठाका लागि होइन कार्यकर्ताको आत्मसम्मानका लागि” भन्ने सन्देशका साथ थापाले क्षेत्रीय प्रतिनिधिहरूसँग मत र साथको अपिल गरेका छन्।