सुचना, समाचार र मनोरन्जन

धरानमा ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ हुने: असोज २० मा ९० को दशकका चर्चित गीत गुञ्जिने

धरान :

धरानको साङ्गीतिक इतिहाससँग जोडिएका ९० को दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ। ९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्यान्ड र गायकका चर्चित गीतहरूलाई समेटेर विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको हो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आगामी असोज २० गते धरानस्थित भिन्टेज बार एन्ड क्लबमा ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुन लागेको हो। कार्यक्रममा ९० को दशकका चर्चित धराने कलाकारहरू सञ्जीव लामा (मिक्स मेलोडी ब्यान्ड), मनोज मोते (जेलर्स ब्यान्ड), दिलु राई (ओझेल ब्यान्ड) र रोहित मास्केको विशेष साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

Pach Pandav

कन्सर्टमा ती कलाकार तथा ब्यान्डका कालजयी गीतहरू प्रत्यक्ष प्रस्तुत गरिनेछन्। सञ्जीव लामाका ‘बिर्सिएका यादहरूले’, ‘सम्झनाहरूलाई अङ्गाल्दै’ र ‘घुम्दै आउनु धरान बजार’, मनोज मोतेका ‘टाढा जाने प्रियसी’ र ‘हाम्रो जीवन’, दिलु राईका ‘माछी पर्यो माझीको जालैमा’ र ‘उमेरले’ तथा रोहित मास्केका ‘मेरी मायालु’ र ‘चिसो चिसो’ जस्ता चर्चित गीतहरूले दर्शकलाई पुराना दिनको साङ्गीतिक यादमा फर्काउने अपेक्षा गरिएको छ।

९० को दशकलाई धरानको साङ्गीतिक इतिहासमा निकै सक्रिय र सृजनात्मक समयका रूपमा लिइन्छ। त्यस समयका प्रतिनिधि कलाकार र ब्यान्डका लोकप्रिय सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई धरानको साङ्गीतिक विरासतसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

आयोजक सिल्भर इन्टरटेनमेन्टका अनुसार धरानको कार्यक्रम सकिएपछि पूर्वका अन्य प्रमुख सहरहरूमा पनि साङ्गीतिक टुर आयोजना गर्ने तयारी भइरहेको छ। ९० को दशकका चर्चित गीत र कलाकारलाई केन्द्रमा राखेर गरिने उक्त टुरमार्फत पुराना कालजयी सिर्जनाहरूलाई नयाँ पुस्तामाझ पुर्‍याउने लक्ष्य लिइएको छ। धरानको साङ्गीतिक पहिचानसँग जोडिएका अग्रज कलाकारहरूको उपस्थिति रहने भएकाले यस कार्यक्रमलाई ‘९०’s धरानेज’को साङ्गीतिक पुनर्मिलनका रूपमा समेत हेरिएको छ।

Leave A Reply

Your email address will not be published.