काठमाडौँ :
अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘आचार्य’ प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चाको केन्द्रमा पुगेको छ। सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा पर्नुका साथै विश्वका विभिन्न १३ देशमा समेत ट्रेन्डिङमा पर्न सफल भएको छ।
निर्माण पक्षका अनुसार नेपालका अलावा यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया र दक्षिण कोरियालगायतका देशमा ट्रेलरले ट्रेन्डिङमा स्थान बनाएको हो। विशेष गरी नेपालमा नम्बर १ ट्रेन्डिङमा आउनुले नेपाली दर्शकमाझ यस चलचित्रप्रतिको उच्च चासोलाई स्पष्ट पार्छ।
ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रको एक्सन, कथावस्तु, प्राविधिक पक्ष र निखिल उप्रेतीको प्रस्तुतिको व्यापक प्रशंसा भइरहेको छ। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेशमा रहेका नेपालीहरूले पनि सामाजिक सञ्जालमार्फत ट्रेलरप्रति उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। नेपाल र प्रवासमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत ‘आचार्य’को ट्रेलरले राम्रो चर्चा पाएको छ। त्यहाँका चलचित्र पत्रकार, कलाकार तथा दर्शकहरूले नेपाली चलचित्रको बदलिँदो स्तर र यसको उत्कृष्ट एक्सन दृश्यहरूको सराहना गरेका छन्।
लामो समयपछि निखिल उप्रेतीलाई सशक्त एक्सनप्रधान भूमिकामा पर्दामा हेर्न पाउने भएकाले उनका प्रशंसकहरू चलचित्रलाई लिएर थप उत्साहित देखिन्छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेता उप्रेतीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताएका थिए। पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित एक्सन थ्रिलर चलचित्र ‘आचार्य’ निखिल उप्रेती स्वयंको निर्देशनमा तयार भएको हो। बहुप्रतीक्षित यो चलचित्र आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।