काठमाडौँ :
नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बाकस’मा कलाकार भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन्। मुख्य कलाकारहरूको छनोटसँगै निर्माण टिमले दसैँलगत्तै चलचित्रको छायाङ्कन सुरु गर्ने निर्णय गरेको छ।

निर्देशक पन्तका अनुसार चलचित्रका लागि कलाकारहरूको समूह लगभग पूरा भइसकेको छ। “केही कलाकार तथा प्राविधिकहरूको छनोट कार्य अन्तिम चरणमा पुगेको छ। बाँकी तयारी पूरा गरेर दसैँपछि हामी सुटिङमा निस्कन्छौँ,” उनले भने।
सामाजिक कथावस्तुमा बन्न लागेको यस चलचित्रमा यसअघि नै नायिका बिपना थापा, वर्षा राउत र अभिनेता महेश त्रिपाठी अनुबन्धित भइसकेका छन्। सुजिता चौलागाईँको निर्माण रहने यस चलचित्रमा छत्रबहादुर खड्का सह-निर्माता र धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माताका रूपमा रहेका छन्।
चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईको सङ्गीत रहनेछ भने गीतका शब्दहरू दीपक शर्मा र निर्देशक नवीन पन्त स्वयंले तयार पारेका छन्। त्यसैगरी, मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरका रूपमा निर्मल न्यौपाने रहेका छन्। चलचित्रको प्रदर्शन मिति भने छायाङ्कन सकिएपछि मात्रै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।